देशैभर रासायनिक मल अभाव : चाहिने ४ लाख मेट्रिक टन, उपलब्ध ३२ हजार

दियो पोस्ट  

काठमाडौं, जेठ १३ । धानबाली रोप्ने बेलामा देशैभर रासायनिक मल अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । धान रोप्ने बेलामा तथा रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई मल चाहिन्छ । तर, यसै बेला देशभरि नै मल पाइन छाडेको छ । मल बिक्री गर्दै आएका कृषि सामग्री कम्पनीले समयमा आयात गर्न नसक्दा किसान समस्यामा परेका हुन् । नेपाल मलमा पूर्णतः परनिर्भर छ । चाहिएको बेला कम्पनीले नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ ।
‘धानबालीलाई मल अभाव हुन नदिनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ बजेट माग गरेको थियो । तर, अर्थ मन्त्रालयले एक साताअघि मात्र बजेट निकासा गरेको हुँदा समयमा मल ल्याउन नसकिने कृषि मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले यस वर्ष धानबाली रोप्ने समयमा किसानले मलको समस्या भोग्नुपर्ने अवस्था देखिए पनि यसको समाधान गर्ने बताए ।

उनले भने, ‘तत्काल समस्या समाधान गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिइसकेका छौं । मलको अभाव हुन दिन्नौं । वैकल्पिक उपाय लगाएर पनि आपूर्ति गर्छौं ।’
मन्त्री खनालले आगामी दिनमा मलको अभाव हुन नदिन यसको भण्डार क्षमता विस्तार गर्ने योजना मन्त्रालयले अगाडि सारेको बताए ।

‘भारतसँग सीमा जोडिएको प्रमुख पाँच नाकामा २०÷२० हजार मेट्रिक टन भण्डारण क्षमता विस्तार गर्ने तयारी सरकारको छ,’ मन्त्री खनालले भने, ‘भैरहवा, वीरगन्ज, विराटनगर, काँकडभित्ता र गौरीफान्टामा २०÷२० हजार मेट्रिक टन भण्डारण क्षमता विस्तार गरिन्छ । यसले एक लाख मेट्रिक टन मल भण्डारण हुन्छ ।’
कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका उपसचिव नेत्र भण्डारीले अर्थ मन्त्रालयले राखेको सर्त कृषि मन्त्रालयले पूरा गर्न नसक्दा समयमा बजेट उपलब्ध हुन नसकेको बताए ।

अर्थ मन्त्रालयको सर्त पूरा गर्न नसकेपछि मुख्यवाली धान रोप्ने बेलामा महल अभाव देखिएको बताए । अर्थ मन्त्रालयले मलमा दिँदै आएको ७० प्रतिशत अनुदानलाई ५० प्रतिशतमा झारेर अन्तर्राष्ट्रिय मूल्यका आधारमा बिक्री मूल्य समायोजन गर्न कृषि मन्त्रालयसँग सर्त राखेको थियो । त्यसपछि मल खरिद प्रक्रिया अवरुद्ध भएको भण्डारीको भनाइ छ ।
उनले भने, ‘कृषि मन्त्रालयको विशेष पहलमा अन्ततः अर्थ मन्त्रालयबाट मल खरिद गर्न ३ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ । बजेट निकासा भएपछि कृषि सामग्री कम्पनीले १ अर्ब ८८ करोड रुपैयाँ मूल्य बराबरको ५५ हजार मेट्रिक टन मल कोलकत्ताबाट आयात गर्न लागेको हो । आयात गरिएका सबै मल नेपाल भित्रिएमा अझै ५० हजार मेट्रिक टन मल अपुग हुन्छ ।

–चाहिने ४ लाख मेट्रिक टन, उपलब्ध ३२ हजार
–५५ हजार मेट्रिक टन मल कोलकत्ताबाट आयात गरिने 
– ढिलो गरी निकासा हुँदा १ अर्ब १२ करोड रुपैयाँ फ्रिज हुने 
–मलका लागि भण्डारण क्षमता विस्तार गर्ने 
–भारतसँग जोडिएको प्रमुख पाँच नाकामा २०÷२० हजार मेट्रिक टन भण्डारण क्षमता विस्तार गर्ने
–मल अभावमा धानबालीको उत्पादन कम हुन सक्ने अनुमान

भण्डारीले मल खरिद गर्न अर्थ मन्त्रालयबाट निकासको भएको ३ अर्ब रुपैयाँमध्ये १ अर्ब ८८ करोड रुपैयाँ मात्र खर्च हुने देखिएको छ । बाँकी १ अर्ब १२ करोड रुपैँयाँ फ्रिज हुने देखिन्छ । चालू आर्थिक वर्ष सकिन लाग्दा बजेट निकासा भएकाले खरिदसम्बन्धी सबै प्रक्रिया पूरा गर्दा समयमा मल नियाल्न नसिकने दाबी उनको छ । कम्पनीसँग अहिले ३२ हजार मेट्रिक टन अनुदानको मल मात्र मौज्दात छ ।
भण्डारीले भने, ‘कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि देशभरि वार्षिक ७ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्छ । तर, ४ देखि ५ लाख मेट्रिक टन मल वितरण गर्न सके पनि त्यसको अभाव हुँदैन ।’

कृषि मन्त्रालयका अनुसार आव २०७०÷७१ मा २ लाख ३२ हजार ८ सय ७९ मेट्रिक टन मल वितरण भएको थियो । २०७१÷७२ मा २ लाख ९८ हजार ८ सय ५८ मेट्रिक टन र २०७२÷७३ मा २ लाख ५८ हजार ७ सय ७९ मेट्रिक टन रासायनिक मल वितरण भएको थियो भने २०७३÷७४ मा ३ लाख २८ हजार २ सय १६ मेट्रिक टन र २०७४÷७५ मा ३ लाख ४८ हजार ७ सय ३४ मेट्रिक टन मल वितरण भएको कृषि मन्त्रालयको तथ्यांकमा छ । मन्त्रालयले चालू आवमा मल खरिदका लागि करिब ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । राजधानी दैनिकबाट

TATA ADD

सिफारिस