सीएमसी भाग्दा ५० निर्माण व्यवसायी डुबे, रकम तत्काल फिर्ता दिन नसकिने आयोजनाको जवाफ

सीएमसी भाग्दा ५० निर्माण व्यवसायी डुबे, रकम तत्काल फिर्ता दिन नसकिने आयोजनाको जवाफ

काठमाडौं, जेठ १६ । मेलम्ची खानेपानी विकास समितिले तत्काल पीडित निर्माण व्यवसायीहरुको भुक्तानी गर्न नसकिने जवाफ दिएको छ । सिएमसी कम्पनीबाट पीडित निर्माण व्यवसायीहरुले आफ्नो डुबेको अरबौंको रकम तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिईरहेका बेला मेलम्ची खानेपानी विकास समितिले तत्काल भुक्तानी गर्न नसकिने प्रष्टयाएको हो ।

समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले शुक्रबार काठमाडौंका पीडित पक्षसँगको अन्तरक्रियामा कानुनी बाटो नभएका कारण तत्काल सो भुक्तानी दिन सकिने अवस्था नरहेको स्पष्ट पारे ।

उनले समिति पीडितको मागलाई सम्बोधन गर्न प्रतिवद्ध रहेको तर त्यसका लागि कानुनी बाटोको खोजीमा रहेको पनि बताए ।

कार्यकारी निर्देशक कँडेलले सो आयोजनामा संलग्न स्वदेशी निर्माण व्यवसायीहरुको भुक्तानीको एकीन गर्न अध्ययन गर्न समिति गठन गर्ने तयारीमा जुटेको पनि जानकारी पनि दिए ।

आयोजनाको बोर्डले अध्ययन समिति बनाएर पीडित पक्षको भुक्तानीका लागि अध्ययन गर्ने निर्णय गरेर आवश्यक निर्णयका लागि खानेपानी मन्त्रालयमा पठाइएको पनि समितिले जनाएको छ । पीडित निर्माण व्यवसायीहरुले आफूहरुको करिव डेढ अरव भुक्तानी सिएमसी कम्पनीले दिन बाँकि रहेको दावी गर्दै उपलब्ध गराई दिन सरकारसँग माग गर्दै आएका छन । समितिका कार्यकारी निर्देशक कँडेलले त्यसैको एकीन गर्न पनि अध्ययन समिति गठन गर्ने निर्णय गरिएको बताए ।
समितिले सिएमसी कम्पनीसँग करिव २ अरव ६१ करोड रुपैयाँ जफत गरेको उल्लेख गर्दै सो पैसाबाट पीडित पक्षलाई भुक्तानी गर्ने तयारी गरिएको पनि जनाएको छ । तर त्यसका लागि कानुनी बाटो नभएको समितिका कार्यकारी निर्देशक कँडेलले बताए ।

यता, पीडित निर्माण व्यवसायीहरुले भने सिएमसी कम्पनीले आफूहरुलाई ठूलो पीडा दिएको उल्लेख गर्दै तत्काल भुक्तानी दिने व्यवस्था गरिदिन सरकारलाई दवाव दिएका थिए । आफूहरुको बेहाल बनाउने काम सिएमसी कम्पनीले गरेको उल्लेख गर्दै निर्माण व्यवसायी किरण थापाले सो कम्पनीसँग जफत गरिएको रकमबाट भुक्तानी उपलब्ध गराउन सरकारलाई दवाव दिए ।
कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पीडित पक्षलाई भुक्तानीको व्यवस्था गर्न ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सिएमसी कम्पनीले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर भागेपछि सो आयोजनाको विकास निर्माणको काममा संलग्न ५० जना भन्दा बढि निर्माण व्यवसायीहरु मारमा परेका छन ।

Trending News