वीर अस्पतालको भेन्टिलेटर खरिदमा मुछिए ईश्वर पोखरेलका छोरा : नयाँ भवन अलपत्र !

वीर अस्पतालको भेन्टिलेटर खरिदमा मुछिए ईश्वर पोखरेलका छोरा  : नयाँ भवन अलपत्र !

काठमाडौं, ३ जेठ । वीर अस्पतालमा अक्सिजन र भेन्टिलेटर उपलब्ध भए ५ सय बेडको नयाँ अस्पताल तयार हुने थियो ।
तर, सरकारी लाचारीका कारण हजारौँ नागरिक सडकमै मृत्युवरण गर्नुपर्दा समेत यो भवन हेरेरै बस्नुपर्ने अवस्था आएको छ ।
गत हप्ता आइतबारदेखि सञ्चालनमा आउने भनिएको वीरको नयाँ भवनमा अक्सिजन भेन्टिलेटर र मनिटरको अभाव कारण हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।


काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा नयाँ भेन्टिलेटर र मनिटर खरिद गर्न रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।
तर, सोही खरिद प्रकरणमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको पुत्र स्वराज पोखरेल समलग्न रहेको म्याक्सिम इन्कर्पोरेशन प्रा.ली रहस्यमयी रुपमा जोडिएको छ । स्रोतका अनुसार करिब ५ करोड रुपैयाँको भेन्टिलेटर र मोनिटर खरिद प्रक्रिया नै मिचेर उक्त कम्पनिलाई दिएको हो ।


काठमाडौं महानगरपालिकाले वीर अस्पतालका लागि १५ वटा भेन्टिलेटर र ५० वटा मनिटर खरिदका लागि रकम उपलब्ध गराउने सम्झौता भएको थियो । वीर अस्पताल , शिक्षण अस्पतालसहित राजधानीका १२ अस्पताललाई महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

स्रोतका अनुसार म्याक्सिमले एउटा भेन्टिलेटर भ्याट बाहेक १९ लाख ८३ हजार २ सय ४० रुपैयाँमा किन्ने प्रस्ताव गरेको छ । बजारमा १७ लाख रुपैयाँ पर्ने भेन्टिलेटर महँगोमा किन्ने प्रस्तावमा वीरका उच्च तहका कर्मचारीले सहयोग गरेका छन् ।

वीरमा म्याक्सिमले १ लाख २९ हजार रुपैयाँ पर्ने मनिटरलाई २ लाख रुपैयाँमा किन्ने प्रक्रिया थालेको स्रोतले बताएको छ । स्रोतका अनुसार शिक्षण अस्पतालमा पनि म्याक्सिमले नै भेन्टिलेटरलगायतको उपकरण खरिद गरेको छ ।

उपप्रधानमन्त्री तथा सिसिएमसीका अध्यक्ष रहेका ईश्वर पाखरेलकै प्रत्यक्ष निर्देशनमा उक्त कम्पनिलाई उपकरण खरिदको ठेक्का दिइएको स्रोत बताउँछ ।

वीरको नयाँ भवनको भेन्टिलेटर खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै विरोध जनाएपछि केही समय रोकिएको थियो । पोखरेलकै पुत्रको समलग्नता रहेको कम्पनिलाई दिनुपर्ने भन्दै महानगरपालिकाले नै भाँजो हालेको स्रोतको दाबी छ ।

Trending News