धादिङको नलाङमा सानाकिसानको २ करोड ऋणमा मनोमानी ; गरिबका नाममा धनिमानीको रजाइँ !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता,


धादिङ, ४ जेठ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ र २ मा नलाङमा रहेको सानाकिसान सहकारीले करोडौं रकममा मनोमानी गरेको पाइएको छ । वागमती प्रदेशद्वारा जारी उत्पादन तथा रोजगारी सिर्जनाकालागि सहुलियतपूर्ण कर्जा कार्याविधि अनुसार विपन्न तथा गरिबले पाउने सहुलियतपूर्ण कर्जा धनीमानि र हुनेखानेहरुलै अपचलन गरेको पाइएको छ ।

सहकारीका अध्यक्ष तिलक सिंखडाले मनोमानी रुपमा सहुलियतपूर्ण कर्जा लक्षित वर्गलाई नदिई आफ्नो नातागोता र काठमाडौंमा महल ठड्याउनेहरुलाई प्रवाहा गरेको पाइएको हो ।


नलाङको दुरदराजमा आर्थिक अभाव र विपन्नताका कारण हजारौं नागरिक बेरोजगार मात्रै छैनन् हातमुख जोड्नै मुस्किल अवस्थामा छन् । तर, सरकारले दिएको अनुदान ऋणमा भने नलाङको बैरेनी बजारमै ठूला महल ठड्याएर व्यापार गर्ने धनीमानिले मात्रै होइन काठमाडौंमा घर बनाएर ऐस आराम गर्नेहरुले समेत रजाईं गरेको भेटिएको हो ।


सानाकिसान सहकारीले लक्षित वर्गको नाममा २ करोड ८० लाख रुपैयाँ रकम यसरी मनोमानी रुपमा वितरण गरेको पाइएपछि स्थानियबासी आक्रोशित भएका छन् ।

सानाकिसान सहकारीबाट ऋण निकाल्ने खुम बहादुर तिमिल्सिना कुनै गरिब र विपन्न वर्गका होइनन् । उनले सानाकिसानबाट २०७७ चैत्र २५ गते ५ लाख रुपैयाँ ऋण निकालेका छन् । कृषि तथा रोजगारी सिर्जना गर्ने कुनै फर्म उनको छैन । तर, उनैलाई व्यापारका लागि भनेर सानाकिसानले ५ लाख रुपैयाँ ऋण दिएको हो ।


सानाकिसानको सहुलियतपूर्ण कर्जालिने अर्का व्यक्ति हुन् अकिल तिमिल्सिना ।

विशेष स्रोतका अनुसार उनले काठमाडौंमा भव्य महल नै ठड्याएका छन् । उनैलाई सानाकिसान सहकारीले व्यापारका लागि भनेर अनुदान ऋण ६ लाख रुपैयाँ दिएको छ । यस विषयमा अकिलको नम्बरमा फोन गर्दा उनले आफ्नो घर काठमाडौंको सिप्रदीबाट गाडीमा १० मिनेट माथि रहेको बताए ।


तिमल्सेना दाजु भाई गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको आफन्त भएका कारण ऋण दिएको स्थानियबासीको आरोप छ ।
सानाकिसानको ऋण अपचलन गर्ने अर्का पात्र हुन्— रेखमान तामाङ । उनको पेशा ग्रिल व्यावसाय हो । बैरेनी बजारमै उनले ग्रिल उद्योग सञ्चालन गरेर बसेका छन् । तर, उनै तामाङलाई सानाकिसान सहकारीले ५ लाख रुपैयाँ ऋण दिएको छ । उक्त ऋण पाउने रेखमानले ग्रिल कारखानाका लागि भनेर ऋण लिएको देखिँदैन । सानाकिसानको स्टेटमेन्टमा उनलाई कुखुरा पालनका लागि ऋण दिएको हो ।


त्यस्तै बैरेनी बजारमा किराना पसल सञ्चालन गर्ने नवराज भट्टलाई पनि सानाकिसानले १० लाख रुपैयाँ ऋण दिएको छ । उनी बैरेनीका सम्पन्न मध्ये पर्छन् । उनी कुनै कृषि पेसामा समलग्न भएका व्यक्ति नभएपनि सानाकिसानले ३ प्रतिशत सहुलियतपुर्ण कर्जा दिएको हो । दियोपोस्टसँग कुराकानीका क्रममा आफ्नो बैरेनीमै किराना पसल रहेको र उक्त किराना पसलकै लागि ऋण लिएको स्विकार गरे । उनको वारिपारी इन्टरप्राइजेजको नाममा सानाकिसानले ऋण प्रवाह गरेको हो ।


नेत्र बहादुर सिलवाललाई पनि कुनै व्यापारिक फर्म बिनै सहकारीले ऋण दिएकोछ । उनी आफै सानाकिसानकै लेखासमिति सदस्य रहेको स्रोतले बतायो । उनले सानाकिसानबाट ७ लाख रुपैयाँ निकालेका छन् ।

सानाकिसानकै सहसचिव लिला बहादुर रानाले पनि सहकारीबाट भैँसी पालनका लागि भनेर ४ लाख रुपैयाँ निकालेका छन् । तर, उनको घरमा एउटा भैँसी मात्रै भएको स्थानियबासी बताउँछन् । व्यापार नै नभएको नागेन्द्र दुवाडीलाई पनि सानाकिसानले ५ लाख रुपैयाँ ऋण दिएको छ । उनी अर्को एक सहकारीमा समेत समलग्न व्यक्ति हुन् ।


कृषि र किसानसँग सम्बन्धित नै नभएको ठाँटीमा मेडिकल चलाएरबसेका हेमनाथ नेपालले समेत सानाकिसानको ५ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण चप्काएका छन् ।

सानाकिसानबाट ऋण पाउनुपर्ने वास्तविक किसानले भने ऋण नपाएको गुनासो छ ।


‘सरकारले विपन्न वर्गका लागि भनेर दिएको ऋण सबै हुनेखानेहरुले लुटेर खाए,’ बैरेनी नजिकै कालिदहका एक किसानले दियोपोस्टसँग भने,‘यो त सरकार राज्यको सम्पत्तिमाथि लुट भयो । सबै हुनेखानेहरुले नै गरिबको ऋण पनि खाए । सानाकिसानको हाकिमले कमिशन खाएर ऋण अपचलन गरे ।’

नलाङस्थित सानाकिसान सहकारीका अध्यक्ष सिंखडामाथि आफन्त र नातागोतालाई लाखौँ ऋण दिएको आरोप छ । सिंखडाले मामाको छोरो भगवान भट्टलाई ५ लाख रुपैयाँ ऋण दिएका छन् । त्यस्तै खुम बहादुर तिमल्सेना उनको ठूलीआमाको छोरा हुनु् ।

तिलक सिंखडालाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले लक्षित वर्गलाई नै ऋण प्रवाह गरेको दाबी गरे ।


‘सञ्चालक समितिले निर्णय गरेरै कार्याविधि अनुसार नै ऋण प्रवाह भएको हो । भन्नेले के–के भन्छन् । नलाङको संस्था निकै समस्याग्रस्त थियो । २ करोड ७२ लाख ऋण थियो । म त्यहाँ गएपछि धेरै राम्रा काम गरेको छु,’ उनले भने,‘सहुलियतपूर्ण कर्जा पाउनुपर्ने व्यक्तिहरुले नै ऋण पाएका छन् । २ करोड ७२ लाख रुपैयाँ खराब कर्जा प्रवाह भएको थियो । त्यसलाई हामीले सुधार गरेका छौँ । नराम्रो काम कहाँ भेटिन्छ त्यहाँ हान्ने भनेर मान्छे बसेका छन् ।’

आफूले कसैलाई काखा पाखा नगरेको उनको दाबी छ । ‘मेरो धादिङमा प्रतिक कम्प्युटर छ । म आइटी पढेर आएको मान्छे हुँ । मैले कसैलाई काखा पाखा गरेको छैन,’ उनको दाबी छ,‘मैले मलाई नभए हुन्छ तर किसानलाई हुनुपर्छ भनेर लागेको छु । मैले पनि पैसा लिएको छु । तर काम गरेको छु ।’


उनले ऋणीहरु आफ्ना आफन्त भएको समेत स्विकार गरे ।

‘भगवान भट्ट मेरोे मामाको छोरो हो । खुम बहादुर तिमिल्सिना ठूलिआमाको छोरा हो,’ उनले भने,‘मैले कार्याविधि अनुसार नै ऋण दिएको हुँ । प्रक्रियाबाटै आएका कारण उहाँहरुलाई पनि ऋण दिएको हुँ ।’

सिफारिस