सिके राउतको पार्टीले वडा अध्यक्षमा खाता खोल्यो

दियो पोस्ट  

काठमाडौं ।  सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले वडा अध्यक्षमा खाता खोलेको छ। सप्तारीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नम्बर एकमा जनमत पार्टीका सुरेन्द्र मण्डल विजयी भएका हुन्। उनले १६७० मत प्राप्त गरेको निर्वाचन अधिकृत उत्तम श्रेष्ठले जानकारी दिए।

यो नगरपालिका सिके राउनको गृहनगर हो। राउतको पार्टीले पहिलो पटक निर्वाचनमा भाग लिएको हो। वडा अध्यक्षमा विजयी भएका सुरेन्द्रका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका गजेन्द्रप्रसाद माझीले ४८४ मत प्राप्त गरे। यस्तै एमालेका जगदीश मंडल ४१० मत, कांग्रेसका  गगनकुमार मन्डलले २१४ मत र माओवादीका  ध्रुबनारायण मण्डलले २५ मत मात्र प्राप्त गरे।

अहिलेसम्म चार वटा वडाको मत गणना सकिएको छ। वडा नम्बर २, १३ र १४ मा भने जसपाका उम्मेदवार विजयी भएका छन्। नगरपालिकाको मेयरमा जनमत पार्टीका विरेन्द्र माझीले अग्रता लिइरहेका छन्। उनले २५ सय ९३ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा जसपाका शैलेशकुमार साह छन्। उनले २ हजार ६२ मत प्राप्त गरेका छन्। उपमेयरमा जनमतकी रेखादेवी मण्डलले २४ सय ७७ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सरितादेवी यादवले २१ सय ८५ मत प्राप्त गरेकी छिन्।