‘मैदी प्रहरी चौकी अगाडी ममाथि निर्घात कुटपीट हुँदा समेत मलाई प्रहरीले सुरक्षा दिएन’

दियो पोस्ट  

धादिङ । धादिङ ज्वालामुखि गाउँपालिका २ मैदीका एक युवाले प्रहरी कार्यालयकै अगाडी आफूमाथि निर्घात कुटपीट हुँदा पनि प्रहरीले कुनै सुरक्षा नदिएको बताएका छन् ।

ज्वालामुखि २ मैदी सातदोबाटो घर भएका दीपक श्रेष्ठले आफूमाथि आफ्नै आफन्तले प्रहरीकै सामु निर्घात कुटपीट गर्दा पनि प्रहरीले कुनै पनि सुरक्षा नदिएको बताएका हुन् ।

इलाका प्रहरी कार्यालय मैदीको कार्यालय भवन अगाडी नै होटल चलाएर बस्ने श्रेष्ठले आफ्नो र श्रीमतीबीचको सामान्य विवादमा श्रीमतीका माइती पक्षका व्यक्तिहरुले प्रहरी कार्यालयकै अगाडी आएर निर्घात कुटपीट गरेको उनको दाबी छ ।

कुटपीटबाट घाइते भएका उनी थप उपचारका लागि जिल्ला अस्पताल धादिङवेशी गएका छन् । उनलाई मैदीमै रहेको स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो ।

‘म र मेरो श्रीमतीबीच सामान्य मनमुटाव थियो । चौकीकै अगाडी आएर मलाई सालाहरुले हातपात गरे । म अहिले धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं जानुपर्ने भएको छ,’ श्रेष्ठले भने,‘सिटिस्क्यान गर्न सिफारिस गरिएको छ । चौकीकै अगाडी ममाथि हातपात हुँदा पनि प्रहरी प्रशासनले मलाई कुनै पनि सुरक्षा दिएन । म निर्घात कुटिँदा पनि प्रहरी प्रशासन मौन रुपमा बसिदिए ।’

उनका अनुसार प्रहरीका चौकी इन्चार्ज सुवोध सापकोटाकै अगाडी घटना हुँदा पनि आफूलाई कुनै सुरक्षा दिइएन ।

यता माइती पक्षका आफन्तले भने सामान्य धकेला धकेल मात्रै भएको दाबी गरेको छ । दिपकको ससुरा नातापर्ने बासु तिवारीका अनुसार दिपकले आफ्नी श्रीमतीलाई अनावश्यक शंका गर्ने र मानसिक यातना दिने गरेका थिए ।

‘सामाजिक सञ्जालमा आफ्नै श्रीमतीको बारेमा जथाभावी लेख्ने । हरेक मान्छेसँग जोडेर शंका गर्ने गरेका कारण परिवार नै भाँडिएको छ,’ बासुले भने,‘हिजो सामान्य धकेलाधकेल हुँदा सामान्य चोट लागेको हो ।’

घटना भएको एक सेकेन्डमा हामी पुगेका छौँ : असई सुवोध सापकोटा

यता मैदी प्रहरी चौकीका इन्चार्ज सुवोध सापकोटा भने आफूहरु घटना भएक सेकेण्डमा आफूहरु पुगेको दाबी गर्छन् ।

‘उनीहरुको घरमा आफन्तहरु आउने जाने गरिरहेका थिए । सालाहरु मोटरसाइकलमा आउँथे । हामीले त्यो चासो दिने कुरा भएन । बेलुका भएपछि भित्रै डाङडुङ आवाज आएपछि लगभग हामी एक सेकेण्डमा त्यहाँ पुगेका छौँ । हामी पुगेपछि थप मानवीय क्षती हुन पाएन,’ सापकोटाले दियोपोस्टसँग भने,‘उनलाई सामान्य उपचारपछि धादिङ अस्पतालमा जान मैले नै सुझाव दिएको हुँ । यहाँ सामान्य छलफल मात्रै हुन्छ । जाहेरी दिने भए धादिङ नै जाउ भनेर मैले नै सुझाव दिएको हुँ ।’

 

सम्बन्धित खबर