भ्रष्टाचार आरोपी प्रेम सिलवाललाई जनताले दिए ‘दण्ड’ : सिद्धलेकमा एमालेको हरिबिजोग !

दियो पोस्ट  

धादिङ । नेकपा एमालेको तर्फबाट धादिङको सिद्धलेक गाउँपालिका अध्यक्षमा पुन उम्मेदवार बनेका प्रेमनाथ सिलवललाई जनताले नै ‘सजाय’ दिएका छन् । निकै लोकप्रीय काम गरेको छु भन्दै पुन उम्मेदवारी दिएका सिलवाललाई सिद्धलेकका जनताले जनमतबाटै पराजित गरिदिएका हुन् । सिद्धलेक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका परशुराम खतिवडा निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा सविता अर्याल निर्वाचित भएकी छिन् । खतिवडाले ७ हजार ९ सय ५६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी सिलवालले ६ हजार एक सय ७१ मत पाए ।

उपाध्यक्षमा खतिवडाकै समुहबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीका उम्मेदवार सविता अर्यालले ७ हजार ३ ससय ७२ मत प्राप्त गरिन् । यसअघि उपाध्यक्ष रहेकी कमला शर्माले ६ हजार २ सय १२ मत पाइन् ।
सिलवाल सम्बद्ध दल नेकपा एमालेलाई सिद्धलेक गाउँपालिकामा नमिठो झड्का लागेको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका पेमा लामा निर्वाचित भएका छन् । २ नेपाली कांग्रेसकै शम्भु गुरुङ निर्वाचित भएका छन् । यी वडाहरुमा यसअघि एमालेले नै जितेको थियो । त्यस्तै ३ मा एमालेकै देवबहादुर पुलामी, ४ मा एमालेकै झंक बहादुर थापा, ५ मा माओवादीका बुद्ध घले, ६ मा एमालेका सुरेन्द्र मगर र ७ मा कांग्रेसका सानो गिरी निर्वाचित भएका छन् ।

यसअघि अधिकांश वडामा जितेको एमालेले हाल तीन वटा वडामा खुम्चिनु परेको छ । २०७४ मा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले ७ वडा मध्ये ६ वटा वडासहित पालिका अध्यक्ष र उपाध्यक्ष जितेर लगभग क्लिन स्विप गरेको थियो । तर, ५ वर्षको अन्तरालमा राम्रो काम गरेर त्यो भन्दा राम्रो जनमत पाउनुपर्ने एमालेले ३ वटा वडासहित पापिलका अध्यक्ष र उपाध्यक्ष नै गुमाउनु परेको छ ।

सिद्धलेकमा एमाले पराजित हुनुमा अध्यक्षका उम्मेदवार प्रेमनाथ सिलवालले गरेको भ्रष्टाचार नै मूल कारण रहेको स्थानियबासी बताउँछन् । उनले आफ्नो कार्यकालमा ट्याक्टर खरिद, मेडिकल औषधी खरिद, गिटी बालुवा ठेक्का, खानेपानीको बोरिङ, सडक आयोजना लगायत दर्जनौँ क्षेत्रमा भ्रष्टाचार गरेको आरोप छ । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । उनीमाथि अख्तियारले छानबीन समेत थालेको छ । अख्तियारको छानबीनमै रहेको बेला सिलवाललाई एमालेले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको थियो । सिलवालको कार्यकालमा भएको अनियमितताबारे दियोपोस्ट डटकमले श्रङ्खलाबद्ध समाचार प्रकाशन गरेको थियो ।

 

 

सम्बन्धित खबर