पूरा हुँदै रितिकको सपना !

दियो पोस्ट  

काठमडौँ । आउँदो अक्टोबर २३ देखि २८ तारिखसम्म बहराइनमा हुने भनिएको डेभिस कपका लागि नेपालले आइतबार चार जना खेलाडी छनौट गर्यो । ति खेलाडी मध्ये अर्घाखाँचीका रितिक राना पनि छनोट भएका छन् । नेपालका एक मात्र ‘आक्रामक’ लनटेनिस खेलाडिका रुपमा चिनिदैँ आएका रितिक पुरुष खेलाडी तर्फ छनोट भएका हुन् ।

भारतको नयाँ दिल्लीमा खेल प्रशिक्षण लिइरहेका रित्तिक यस अघि नै नेपालमा हुने गरेका थुपै राष्ट्रिस्तरका खेलमा सहभागी भइसकेका छन् । उनी लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै बिभिन्न क्षेत्रमा हुने गरेका खेलमा सहभागी हुने गरेका थिए । यद्यपी, नेपाल टेनिस संघ र राष्ट्रिय खेलकुद परिषदले समेत उनलाई ओलम्पिक कमिटीको आधिकारिकता प्रदान गरिसकेको छ ।

यस अघि उनी लनटेनिस तर्फ ‘२०७८’ को उत्कृष्ट वर्ष खेलाडीको रुपमा पुरस्कृत समेत भएका थिए । एनएनआईपीएको १७ औं स्पोर्टस अवार्डबाट सम्मानित भइसकेका उनी नेपालका लागि अन्तर्राष्ट्रिय खेल खेल्न चाहान्थे । बहराइनमा हुने डेभिस कपका लागि छनोटमा परेपछि खुसी ब्यक्त गर्दै उनले भने, “नेपालमा हुने हरेक म्याचमा मैले सहभागिता जनाउँदै आएको छु । यसपालि म नेपालकै लागि अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी हुन बहराइन जाँदैछु, खुसी लागेको छ ।”

अट्याकिङ्ग खेलाडी रुपमा चिनिदै आएका उनी खेल क्षेत्रबाट नेपाल र नेपालीको शिर उँचो राख्न चाहेको बताउँछन् । भन्छन्, “नेपाल आफैमा सुन्दर छ । त्यससंगै खेलका माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन पाउनु मेरा लागि स्वर्णीम अवसर पनि हो । त्यहाँ पुगेर मैले उत्कृष्ट खेल प्रदर्शन गरी नेपालका लागि अवार्ड जितेर आउनेछु र नेपालको नाम राख्नेछु ।”

अर्घाखाँची जिल्लामा जन्मिएका रितिक अध्ययनको शिलशिलामा भारतको नयाँ दिल्लीमा बस्दै आएका छन् । स्नातक तहमा अध्ययनरत उनी नेपालमा हुने हरेक खेलमा सहभागी हुन पढाई छोडेर नेपाल आउने गरेका छन् ।

लनटेनिस तर्फ ‘२०७८’ को उत्कृष्ट वर्ष खेलाडीको रुपमा पुरस्कृत रितिक

छोराको खेलप्रतिको झुकाव देखेर नै आफुले भारतमा राखेर खेल  प्रशिक्षण दिइरहेको रितिकका बुवा राज रानाले बताए । डेभिस कपका लागि  नेपालका तर्फबाट छोरा छनोटमा परेपछि खुसी हुँदै उनले भने,“म आज निकै खुसी छु । छोराको सानैदेखिको सपना पुरा हुँदैछ । अन्तर्राष्ट्रिय गेममा पहिलो पटक सहभागी हुँदैछ, पक्कै पनि जित हासिल गरेर नेपालका लागि अवार्ड ल्याउनेछ ।”

उक्त खेलका लागि पोखराका अभिषेक बाँस्तोला र प्रदिप खड्का, अकी जुवेन रावतसहित ४ टेनिस खेलाडी छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए ।

छनोटमा परेका अभिषेक विश्व टेनिस बरियतामा १९७० औं स्थानमा छन् भने प्रदिप नेपालका विगत चार वर्ष देखि नं १ खेलाडी हुन् । प्रदिपसंग १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेको अनुभव छ । उनी कुनै पनि विदेशी मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता हुनेछन् । यता अभिषेक अमेरीकामा बसेर टेनिसखेल जिवनलाई अघि बढाइरहेका छन् ।