हवाई टिकटमा भ्याट लगाएको प्रति पर्यटन मन्त्री सुदन किराँतीको असन्तुष्टि !

दियो पोस्ट  

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किराँतीले बजेट मार्फत हवाई टिकटमा समेत भ्याट लगाएको विषयमा असन्तुष्टि पोखेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री किरातीले हवाई टिकटमा भ्याट लगाउने सरकारकै निर्णयको आलोचना गरेका हुन् ।

पर्वतारोहण संचालक संघ नेपाल द्वारा आयोजित बसन्त ऋतु २०२३ मा सगरमाथा तथा ल्होत्से हिमाल अरोहणमा बाटो खोल्ने क्रममा डोरी टांङ्ने टोलीलाई सम्मान तथा सो क्रममा सहादत प्राप्त गर्ने आरोहीको आफन्तलाई सम्मान कार्यक्रममा उनले यस्तो धारणा अघि सारेका हुन् ।

‘बजेटमा कतिपय विषय मिलेको जस्तो मलाई लागेको छैन । हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएपछि एक लाखको टिकट १ लाख १३ हजार पुग्ने भयो । यतिका रकम खर्च गरेर किन नेपालबाटै टिकट काट्न पर्यो बाहिरबाटै टिकट काटे भइहाल्यो नी,’ मन्त्री किराँतीले भने,‘यो विषय ध्यानाकर्षण भएको छ । म क्याबिनेट बैठकमा समेत कुरा उठाउँछु ।’

उनले पर्वातरोहरणको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई भिरमाउरीको संज्ञा दिएका छन् । त्यस्तै आफूले नेपालको पर्यटन क्षेत्रको सुधारका लागि सम्पदा सरसफाईमा जुटेको समेत बताए ।

‘पर्यटन प्रवद्र्धन उच्च बनाउन जरुरी छ । यही राम्रो होस् भनेर हाम्रो सम्पदा राम्रो बनाउन लागेको छु । सगरमाथामा पनि धेरै फोहोर छ । यसमा पनि समय अनुसारको कानुन बनाउनुपर्छ,’ उनले भने,‘यो देशको हित हुन्छ भने म जस्तो सुकै अवस्थामा पनि अघि बढ्छु । बजेट सेसनपछि पर्यटन ऐन बनाउन लाग्नेछु । जलबायु परिवर्तनले हाम्रा हिमालहरुलाई चुनौती दिएको छ ।’

कार्यक्रममा संघले २८ पटकसम्म सगरमाथा अरोहण गरेर विश्व किर्तिमान कायम गर्ने कामिरिता शेर्पा लगायतलाई सम्मान गरिएको थियो ।