काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नक्कली उद्धार (फेक रेस्क्यु) को नाममा विदेशी पर्यटक ठगी गर्ने गिरोहमाथि सम्पत्ति सुद्धिकरण कसुरमा अनुसन्धान थालेको छ । ब्युरोले यसअघि फेक रेस्क्यु धन्दा गर्नेहरु ३३ जना माथि मुद्दा चलाएको थियो । तर, सरकारी वकिल कार्यालयले माउन्टेन हेलिकोप्टरका संचालक प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहलाई उन्मुक्ति दिएको थियो । महान्यायधिवक्ता कार्यालयले उन्मुक्ति दिने अधिकारीहरुलाई समेत कारबाही स्वरुप सरुवा गरि सिंहलाई पुन मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यसलगत्तै सिंहमाथि पुन मुद्दा अभियोजन भएको थियो ।
सीआईबीका एक उच्च अधिकारीका अनुसार सम्पत्ति शुद्धीकरण कसुरमा यसअघि पक्राउ परेका वा फरार रहेका अभियुक्तलाई पक्राउ गरेरै अदालतमा उपस्थित गराइनेछ ।
प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठका अनुसार अनुसन्धान अधिकारी तोकिएरै अनुसन्धान शुरु भइसकेको छ ।
विदेशी बिमा कम्पनीहरूबाट लाखौँ डलर असुल्ने र उक्त रकम एजेन्सी, अस्पताल र हेलिकप्टर कम्पनीले बाँडफाँट गर्ने गिरोहमाथि सीआइबीले ऐतिहासिक अपरेशन चलाएको थियो । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका र फरार रहेका अधिकांश अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिएको थियो । यसअघि फेक रेस्क्युमा मुद्दा नै नचलेका हुनाले पहिलो पटक सीआइबीले मुद्दा चलाएपछि अहिले यो कसुर समेत स्थापित भएको छ ।