‘एभरेष्ट कफी बिन्स’को सातौँ शाखा अनामनगरमा सुरु, फ्रेन्चाइज विस्तारलाई तीव्रता

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कफी बजारमा उत्कृष्ट ब्राण्डको रुपमा स्थापित ‘एभरेष्ट कफी बिन्स’ले आफ्नो सातौँ शाखा बिस्तार गरेको छ । ‘एभरेष्ट कफी बिन्स’ले काठमाडौंको अनामनगरस्थित सिंहदरबार पूर्वीगेटमा आफ्नो सातौँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

कम्पनीले यससँगै पहिलो पटक फ्रेन्चाइज मोडलमार्फत व्यवसाय विस्तारलाई अघि बढाएको जनाएको छ । एभरेष्ट ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित उक्त ब्रान्डका अध्यक्ष प्रेम सेन सुनारले नेपालमा कफी संस्कृतिको विस्तार तीव्र रूपमा भइरहेको उल्लेख गरे । गुणस्तरीय कफी र आकर्षक वातावरणप्रति युवापुस्ताको आकर्षण बढेको भन्दै उनले कम्पनीले नेपाली कफीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभवसँग जोड्ने लक्ष्य राखेर विस्तार योजना अघि बढाइरहेको जानकारी दिए ।

कम्पनीले लगानीकर्तालाई प्रोत्साहन गर्न थप पाँच वटा फ्रेन्चाइज निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । साथै, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पनि कम्पनी आफैंले सम्हाल्ने जनाएको छ । न्यूनतम २० लाख रुपैयाँ लगानीमा कम्पनीको मापदण्डअनुसार आउटलेट सञ्चालन गर्न सकिने सुनारले जानकारी दिए ।

एभरेष्ट कफी बिन्सले २०८० चैत १९ गते काठमाडौंको मैतीदेवीबाट पहिलो आउटलेट सुरु गरेको थियो । छोटो अवधिमै सात शाखा सञ्चालनमा ल्याएको कम्पनीले अब कलंकीमा आठौँ आउटलेट खोल्ने तयारी गरिरहेको जनाएको छ ।

कफीसँगै विभिन्न बेकरी आइटम र खाजाका परिकार उपलब्ध गराउँदै आएको ‘एभरेष्ट कफी बिन्स’ले रोस्टेड कफी बिन्स व्यापार तथा तालिम क्षेत्रमा पनि लगानी गर्दै आएको छ ।

यस नयाँ आउटलेटमार्फत संकल्प इन्भेष्टमेन्ट प्रालिले पहिलो पटक एभरेष्ट कफी बिन्सको फ्रेन्चाइजमा लगानी गरेको हो । संकल्प इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष कृष्ण अर्यालले गुणस्तरीय सेवा र उत्पादनका कारण एभरेष्ट कफी बिन्समा लगानी गरेको बताए । उनले आगामी दिनमा अन्य स्थानमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

नेपालमा पछिल्ला वर्षहरूमा कफी संस्कृतिको विस्तार उल्लेखनीय रूपमा बढिरहेको छ । विशेषगरी युवापुस्तामाझ कफी हाउसहरू भेटघाट, व्यवसायिक छलफल तथा सामाजिक जमघटका लोकप्रिय केन्द्र बन्दै गएका छन् । स्वदेशमै उत्पादन हुने कफीको माग बढेसँगै कफी उद्योग र हस्पिटालिटी क्षेत्रमा नयाँ लगानीसमेत विस्तार हुँदै गएको छ ।

सिफारिस