छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ ढोलढुङ्गास्थित सडकमा भे.९ प ७५७२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने ३० वर्षीया पबित्रा सुनार रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सर्लाहीको कबिलासी नगरपालिका–१० सलेम्पुर चोकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–५ मोहनपुर बस्ने २१ वर्षीया सबनम खातुन रहेका छन्  ।   दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । साथै उक्त गाडीको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी र चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।