छुट्टाछुट्टै ठाउँमा ४ जनाको डुबेर मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न स्थानमा ४ जनाको डुबेर मृत्यु भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–२ घोल्तडास्थित सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–४ सानागाउँ बस्ने ३७ वर्षीय तेज बहादुर खड्का रहेका छन् । नुहाउने क्रममा नदीले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीको टोलीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा आइतबार दिउँसो उनको शव फेला पारेको हो ।

साथै धादिङको सिद्दलेक गाउँपालिका–१ बुङचुङस्थित एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका–५ घाटबेशी बस्ने १७ वर्षीय सुशिल श्रेष्ठ रहेका छन् । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो ।

यसैगरी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ बस्ने लाक्पा तामाङको छोरा १३ वर्षीय अजय तामाङको मृत्यु भएको छ । उनको सोही नगरपालिका–४ स्थित मेलम्ची खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।

साथै नवलपरासी(पूर्व) मध्यबिन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखे ढुङगा पानीको रहमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१५ प्रगतिनगर बस्ने ३० वर्षीय कृष्ण सुवेदी रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर