अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंमा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको महानगरपालिका–६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध नुफिन १ एम्पुल, फेनारगन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ट्रमा २० ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलाखा घर भई काठमाडौं सिफल बस्ने २६ वर्षीय विश्‍व लामा र महोत्तरी बर्दीबास घर भई काठमाडौं सिनामंगल बस्ने ३२ वर्षीय राजन बोहोरा रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

साथै काठमाडौंको तारकेश्वर नगरपालिका–८ नेपालटार डाडागाउँबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ ट्याब्लेटसहित एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–४ पुरानोगुहेश्वरी बस्ने ३२ वर्षीय सुर्य महर्जन रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर