कपिलवस्तको छुट्टाछुट्टै ठाउँमा अवैध लागूऔषधसहित ४ जना पक्राउ

दियो पोस्ट  

कपिलवस्तु । कपिलवस्तुको छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–१ बैरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय १० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय अजय घिमिरे रहेका छन् । उनले आफ्नै व्याट्री पसलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीको टोलीले पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई आइतबार राति पक्राउ गरेको हो ।

यसैसाथ कपिलवस्तुकै मायादेवी गाउँपालिका–३ बर्गदवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका–८ भर्सा बस्ने २५ वर्षीय आकाश चौधरी र ३१ वर्षीय बुद्धि थारू रहेका छन् । ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीको टोलीेले पकडीबाट बर्गदवा हुँदै रूपन्देहीतर्फ जाँदै गरेको लु.४२ प ५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी आइतबार राति पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त पदार्थ कपिलवस्तु नगरपालिका–१० पचहेरा बस्ने २७ वर्षीय सुनिल कुमार लोनियाले दिएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडी र जिल्ला प्रहरी कार्यालय कपिवस्तुबाट खटिएको प्रहरीको टोलीले लोनियालाई पक्राउ गरेको छ । लोनियालाई उनकै घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।