चीनमा मोटोपन घटाउने औषधीको व्यापार किन बढिरहेको छ ?

दियोपोस्ट संवाददाता  

ताइपेई । पछिल्लो समय ओजेम्पिकले चीनमा सबैभन्दा ठुलो आफ्नो व्यापार बढाइरहेको छ । गत वर्ष डेनमार्कको औषधी कम्पनी नोभो नोर्डिस्कले मधुमेहको औषधी बेचेर चीनमा दोब्बर व्यापार गरेको थियो । नोर्डिस्कले मधुमेहका बिरामीको लागि मात्र झन्डै ७ सय मिलियन डलरको औषधी बिक्रि गरेको थियो । जुन ओजेम्पिकको विश्वव्यापी रुपमा ५ प्रतिशत बिक्रि हो ।

औषधी उत्पादक कम्पनी नोभो नोर्डिस्कले चीनमा ओजेम्पिक नामक औषधी विक्रि वितरण गर्दै आएको छ । मधुमेहको उपचारका लागि भन्दै चीनले सन् २०२१ मा ओजम्पिक नामक औषधीलाई अनुमती दिएको थियो । तर ओजम्पिकको प्रयोग मधुमेहको उपचारमा मात्र नभई त्योभन्दा बढि मोटोपना घटाउने औषधीको रुपमा व्यापक मात्रामा प्रयोग भइरहेको छ । चीनका सेलेब्रेटीहरुले मोटोपना घटाउने अचुक विधिको रुपमा यस औषधीको व्यापक प्रचारप्रसार गरिरहेका छन् । ठुल्ठुला चिनियाँ भ्लगर, इन्फ्लुयन्सरलगायतले सामाजिक सञ्चजालमा ओजेम्पिकको विज्ञापन गरिरहेका छन् ।

‘वास्तवमा, चिनियाँ महिलाविच ‘पातलो’ नै सुन्दरताको मानक भन्ने छ । सुन्दर बन्ने चक्करमा पछिल्लो समयमा यहाँका मानिसले आफ्नो स्वास्थ्य बाजी राखेका छन् । चीनका अधिकांश मानिस मोटोपना घटाउनकै लागि जस्तोसुकै विधि अपनाउन र औषधी लिन पछि हट्दैनन्’ अष्टे«लियाली विश्वविद्यालय युनिभर्सिटी अफ न्यु साउथ वेल्सका सिनियर लेक्चरर पान वाङले भनेकी छन्, ‘त्यसैले चीनमा ओजेम्पिकको मागले तिब्रता पाउनुमा मलाई खास अनौठो लागेको छैन ।’

संसारमा मोटोपना भएका मानिसको संख्या सबैभन्दा बढि चीनमा छ । चीनको कुल जनसंख्यामध्ये ५० प्रतिशत मानिसहरु मोटोपना भएका व्यक्तिहरु रहेको विभिन्न तथ्यांकले देखाउँछ । एकातिर बढ्दो मोटोपना र अर्कोतर्फ सुन्दर देखिने होडमा त्यहाँका मानिसहरुले ओजेम्पिकजस्ता मोटोपना घटाउने औषधीहरुको व्यापार बढाइरहेका छन् । बढ्दो माग आपुर्ती गर्न औषधी उत्पादक कम्पनी नोभो नोर्डिस्कले मोटोपना घटाउने औषधी ओजेम्पिक र विगोभीमा ६ बिलियन अमेरिकी डलर खर्च गर्ने योजना बनाएको अन्र्तराष्ट्रिय मिडिया एविसिमा उल्लेख छ ।

उसो त ओजेम्पिकले तौल घटाउने प्रयोगको लागि अनुमती पाएको छैन । तर औषधि वितरक कम्पनी नोभो नोर्डिस्कले ओजेम्पिकको विस्तार बढाउन चीनको औषधी नियामकसमक्ष आवेदन गरिसकेको छ । र मोटोपना घटाउने औषधीको रुपमा ओजेम्पिकले चाडै अनुमती पाउन सक्ने अनुमान गरिएको छ । यदि ओजेम्पिकले चीनमा उक्त अनुमती प्राप्त गरेमा नोभो कम्पनीले मोटोपना घटाउने उदेश्यले आफुले उत्पादन गरेको औषधी विगोभीले पनि यसै वर्षभित्र प्रयोग अनुमती पाउने अपेक्षा राखेको छ ।

मोटोपना घटाउने औषधीको रुपमा इन्डियानाको औषधी कम्पनी इली लिलिले स्वीकृती पाइसकेको छ ।अन्य केहि चिनियाँ कम्पनीले पनि मोटोपना घटाउने स्वदेशी औषधी उपचार भन्दै प्रयोग अनुमती पाइसकेका छन् ।

चर्को मुल्य

मोटोपना घटाउनको लागि प्रयोग हुने ओजेम्पिकलगायत औषधीको मुल्य पनि मागजत्तिकै बढि छ । टाओवाओजस्ता चिनियाँ अनलाईन प्लेटफर्महरुमा ओजेम्पिकको मुल्य १३८ अमेरिकी डलरजति पर्छ । जुन सामान्य अस्पतालमा भन्दा कैयौ गुणा बढि मुल्य हो ।

तौल घटाउनेसम्बन्धि औषधीको बढ्दो मागले व्यापारीहरुले मनोमानी ढंगले मुल्य तोक्दै गएको चिनियाँ अर्थविद् अलान भोन मेहरेनको भनाई छ । ‘यस्ता औषधीको बढ्दो मागले मनोमानी मुल्य तोकिन्छ भने आगामी दिनहरुमा मोटोपना घटाउने जस्तोसुकै औषधीको वितरण ह्वात्तै बढ्ने देखिन्छ । जसका कारण मोटोपनासम्बन्धि औषधीले बजार खाने र व्यापार झनै बढ्ने देखिन्छ’ उनले भनेका छन् ।

मोटोपना घटाउनकै लागि चीनका मानिसहरुले चिकित्सकको प्रिस्क्रिप्सनविना ओजेम्पिकजस्ता औषधीको सेवन गर्दै आएका छन् । तर गत वर्षदेखि भने चिनियाँ अधिकारीहरुले मोटोपनाविरुद्धको औषधी प्रचारप्रसार गर्ने ५ हजार भन्दा बढि पोष्टहरु सामाजिक सञ्जालबाट हटाएको थियो ।

चिकित्सकको सल्लाहविना औषधी किनबेच गर्ने निकाय र व्यक्तिविरुद्ध पनि त्यहाँको प्रहरी र नियामक निकायले अनुसन्धान प्रक्रिया अघि बढाउन थालेको छ ।

अलजजिराबाट दियोपोष्टका लागि अनुवादित अंश