हङकङमा रहेका ७० प्रतिशत नेपाली युवा लागुऔषध दुव्र्यसनीमा, इच्छाविपरित अभिभावकले नेपाल पठाउदै

हङकङको नेपाली समुदायमा समस्या

दियोपोस्ट संवाददाता  

काठमाडौं । हङकङमा रहेको नेपाली समुदायका ७० प्रतिशत नेपाली युवा लागुऔषध दुव्र्यसनीको सिकार बनेको एक रिपोर्टले खुलासा गरेको छ । हालै प्रकाशित हङकङको एक गैर नाफामुखी संस्थाले सर्वेक्षण्को आधारमा सो खुलासा गरेको हो ।

रिपोर्टका अनुसार अभिभावकले पाँचमध्ये एक नेपाली विद्यार्थी नेपाल फर्काउने गरेकोसमेत खुलेको छ । हङकङमा नेपाली मुलका मानिसले आर्थिक अभाव, पारिवारिक समस्या र युवाविच बढ्दो लागुऔषध दुव्र्यसनीका कारण अभिभावकले आफ्ना सन्तानलाई उनीहरुको इच्छाविपरित नेपाल पठाउने गरेको रिपोर्टमा उल्लेख छ ।

जातिय अल्पसंख्यकको समान अवसर र एकीकरणसम्बन्धि हङकङको गैर नाफामुखी संस्था ‘हङकङ युनिसन’ले शुक्रबार पत्रकार सम्मेलनमार्फत सर्वेक्षणमा आधारित एक रिपोर्ट सार्बजनिक गरेको थियो । उक्त संस्थाले ‘हङकङमा नेपाली युवाले सामना गर्ने चुनौती’ शीर्षकमा सर्वेक्षण गरेको थियो । करिब २६८ नेपाली विद्यार्थीको सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षण रिपोर्टअनुसार २६८ नेपाली विद्यार्थीमध्ये ५० भन्दा बढिलाई अभिभावकले उनीहरुको इच्छाविपरित नेपाल पठाउने गरेका छन् । त्यसबाहेक कमजोर आर्थिक अवस्था र पारिवारिक समस्याका कारण करिब ४० प्रतिशतभन्दा बढिलाई अभिभावकले आफुबाट टाढा राखेका छन् । कतिपय अवस्थामा भने जबरजस्ती बिवाह गराउन नेपाली युवतीलाई नेपाल पठाउने गरेकोसमेत उक्त रिपोर्टमा उल्लेख छ ।

‘सर्वेक्षणमा भाग लिने ७० प्रतिशत छात्रहरु लगुऔषधमा छन्’ उक्त रिपोर्टमा भनिएको छ, ‘जुन हङकङमा भएको नेपाली समुदायको लागि गम्भीर समस्या हो । यसले हङकङमा नेपाली विद्यार्थीको संख्या अझै घट्ने संकेत गर्छ । पछिल्लो समय यो समस्या सामान्य भन्दा १५ गुणा बढि हो ।’

करण जस्तोसुकै भएपनि कुनैपनि विद्यार्थी आफ्नो शैक्षीक अधिकारबाट बञ्चित हुनु नपर्ने रिपोर्ट हङकङ युनीसनका कार्यकारी निर्देशक जोन सेले बताएका छन् । ‘नेपाली विद्यार्थीलाई थप सशक्त बनाउनुपर्छ’ रिपोर्ट सार्बजनिक गर्दै उनले भनेका छन्, ‘उनीहरुको हितको लागि आगामी दिन थप अभियानहरु सञ्चालन गर्नुपर्छ ।’

फिलिपिनो, इन्डोनेसियाली, भारतिय र पाकिस्तानी समुदायपछि ङकङमा नेपालीहरुको ठुलो बाहुल्यता रहेको छ । सन् २०२१ को गणनाअनुसार हङकङमा २९ हजार ७ सय नेपाली बसोबास गर्दै आएका छन् । हङकङमा २४ वर्षमुनीका ३० प्रतिशत नेपाली रहेका छन् ।

ज्युरिष्ट न्युजबाट