काठमाडौं । घुम्ने उदेश्यले काठमाडौं पुगेर परिवारसँग सम्पर्कबिहिन बनेका पाकिस्तानी नागरिक एक महिनापछि फेला परेका छन् । दुबई हुदै नेपाल पुगेका पाकिस्तानी नागरिक मोल्भी मुहम्मद मोभेइस एक महिनापछि फेला परेका हुन् ।
परिवारसँग सम्पर्कबिहिन भएको झन्डै ३४ दिनपछि मुहम्मद गोंगबुस्थित एक होटेलमा फेला परेको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले जनाएको छ ।
मुहम्मद वैशाख २५ गते दुबईबाट नेपाल आएका थिए । काठमाडौ पुगेको दुई दिनपछि उनी आफ्नो परिवारसँग सम्पर्कविहिन बनेका थिए । मुहम्मद र उनको परिवारविच अन्तिम पटक वैशाख २७ मा सम्पर्क भएको थियो । एकाएक सम्पर्कबिहिन बनेका उनको खोजीका लागि उनकी श्रीमती राविया रेइजले पर्यटन प्रहरीसमक्ष खोजीको माग गरेकी थिइन् । प्रहरी प्रधान कार्यालय र केन्द्रिय अनुसन्धान ब्युरोले उनलाई आइतबार गोंगबुस्थित एक्चुअल होलिडे इन नामक होटेलमा फेला पारेको थियो ।
परिवारसँग सम्पर्कविहिन हुनुको कारण भने नखुलेको र हाल उनलाई पाकिस्तानी दुतावासमार्फत परिवारको जिम्मा लगाइएकोसमेत प्रहरीले जनाएको छ ।