एथलेटिक्समा गण्डकी टिम च्याम्पियन

दियोपोस्ट संवाददाता  

काठमाडौं । गण्डकी प्रदेश प्रथम यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बिहीबार गण्डकी टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै गण्डकी टिम च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेश ३ स्वर्ण, २ रजत र ६ कांस्यसहित लुम्बिनी प्रदेश दोश्रो बनेको छ । कर्णाली प्रदेशले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पार्दै तेस्रो स्थान हासिल गरेको छ । योसँगै प्रतियोगितामा सहभागी सातवटै प्रदेश स्वर्णविहीन हुनु परेको छैन । १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले समान १–१ स्वर्ण जितेका छन् ।

पोखरा रंगशालामा भएको छात्र ४ गुणा १ सय मिटर रिलेमा लुम्बिनी पहिलो, गण्डकी दोश्रो र सुदूरपश्चिमले तेस्रो स्थान हासिल गरेका छन् । सो प्रतिस्पर्धाको छात्रामा गण्डकीले स्वर्ण, कोशीले रजत र कर्णालीले कांस्य जितेको छ ।

सटपुटको छात्रमा कोशीका छिरिङ शेर्पा पहिलो भएका छन् । उनले १०.५७ मिटर टाढा फालेका थिए । गण्डकीका गणेश श्रेष्ठ दोश्रो तथा लुम्बिनीका पारसबहादुर शाही तेश्रो स्थानमा रहेका छन् । उक्त प्रतिस्पर्धाको छात्रामा ८.३७ मिटर थ्रो गरेकी लुम्बिनीकी सम्झना थारु पहिलो भएकी छन् । कर्णालीकी उर्मिला राजी दोश्रो तथा गण्डकीकी युना सारु मगर तेश्रो बनेका छन् ।

छात्रको ८ सय मिटर दौडमा बागमतीका सुनिल विक पहिलो बनेका छन् । उनले निर्धारित दूरी २ मिनेट ०९.६३ सेकेन्डमा पूरा गरेका थिए । कर्णालीका अनिल शाही दोश्रो तथा लुम्बिनीका विशाल थारु तेश्रो भएका छन् । सो प्रतिस्पर्धाको छात्रामा कर्णालीकी पुर्णिमा बुढाले निर्धारित दूरी २ मिनेट ३६.२६ सेकेन्डमा तय गर्दै स्वर्ण चुम्न सफल भएकी छन् । गण्डकीकी कञ्चन भण्डारी दोश्रो तथा मधेशकी आशा साह तेश्रो भएकी छन् ।

छात्रको २ सय मिटर दौडमा गण्डकीका सुशान्त बोटेले स्वर्ण जितेका छन् । उनले निर्धारित दूरी २४.३३ सेकेन्डमा पूरा गरेका थिए । लुम्बिनीका अभय राना दोश्रो तथा बागमतीका अजित ठाकुर तेश्रो स्थानमा रहेका छन । त्यसै स्पर्धाको छात्रामा गण्डकीकी अनुष्का अधिकारी पहिलो भएकी छन् । अनुष्काले निर्धारित दूरी २७.६२ सेकेन्डमा पूरा गरेकी छन् । सुदूरपश्चिमकी रितु जोशी दोश्रो तथा लुम्बिनीकी जमुना लोध तेश्रो भएका छन् ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका छन् ।