फिल्म निर्देशक सुदर्शन थापासहित ३ जनाविरुद्ध डेढ करोड ठगीको मुद्दा

दियोपोस्ट संवाददाता  

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापासहित तिन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ । उनीहरुले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको हो ।

२१ जेठमा प्रहरी वृत्त मालीगाउँले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो । त्यसको दुई दिनपछि उनलाई हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान थालेको थियो ।

प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा दर्ता गरेका हुन् । यस थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरु तीन जनाविरुद्ध पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए । पशुपति प्रसाद–२ चलचित्र निर्माण गर्दा थापा निर्देशक थिए भने श्रेष्ठ सम्पादक थिए ।

निर्देशक थापा, सम्पादक श्रेष्ठ र ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल मिलेर निर्मातालाई कुनै जानकारी नै नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख बराबरको हानी पुर्‍याएको आरोप लगाइएको थियो । निर्माताको जानकारी र अनुमति बिनै ओएसआरले १९ फागुन २०७९ मा चलचित्र प्रदर्शन गरेको, अमेरिका, अष्ट्रेलिया, दुबई, कतार लगायतका मुलुकमा समेत आफूखुसी बिक्री वितरण गरेर विश्वासघात गरेकोे निर्माताको आरोप थियो ।

अनुमतिबिना ओएसआरको युट्युबबाट चलचित्रमार्फत ६० लाख, विदेशी मुलुकहरुबाट ९० लाख गरी १ करोड ५० लाख समेत आर्जन गरेर ठगी गरेको निर्माता बस्नेतको आरोप थियो । विश्वासघात गरेर लाभ लिई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा ९१० अनुसारको कसुर गरको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ । १ करोड ५० हजार रुपैयाँ बिगो, क्षतिपूर्तिसहित ७ वर्षसम्मको कैद मागदाबी गरिएको छ ।