
काठमाडौँ । आज जेठ १९ गते । अर्थात दरबार हत्या काण्ड भएको दिन । २४ वर्ष अघि आजकै दिन (२०५८ जेठ १९ गते) तत्कालिन राजा बिरेन्द्रसहति राजपरिवारका सदस्यहरुको हत्या भएको थियो । सोही दिनको सम्झनामा राजावादीहरुले आजको आदोलन स्थगित गरेर बिरेन्द्रको परिवारको शोक मनाउने भएका छन् ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज आन्दोलनका कार्यक्रम नगरी साँझ ६ बजे कमलादीस्थित गणेशस्थानमा दीप प्रज्वलन गर्ने बताएको छ । संयोजक सुवेदीले विज्ञप्ति जारी गर्दै राजा वीरेन्द्रको परिवारको हत्या भएको स्मृतिमा आज साँझ दीप प्रज्ज्वलन गरिने उल्लेख गरे । यद्यपी, राजदरवार हत्या काण्डको विषय अहिलेसम्म रहस्यमयी छ ।
राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीजस्ता एजेन्डा लिएर जेठ १५ गतेदेखि समितिको आह्वानमा आन्दोलन भइरहेको थियो ।
समितिले राजसंस्था पुनर्स्थापनालगायत माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको थियो। तर आज भने राजावादीहरूले आन्दोलन शोकमा परिणत गर्ने भएका छन्। धर्ना तथा जुलुस नगर्ने उनीहरूको भनाइ छ।