नक्कली ‘प्रचण्ड’ घनश्याम गौतमको निधन !

दियोपोस्ट संवाददाता

काठमाडौं । चर्चित टिभी सिरियल ‘मेरी बास्सै’मा ‘नक्कली प्रचण्ड’ पात्रको रुपमा ख्याती कमाएका कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ । राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको हो ।

उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ । अल्पायुमै संसारबाट बिदा लिएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा पनि प्रस्तुति दिएका छन् ।

डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । अवस्था थप जटिल भएपछि केही दिनअघि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।

डेढ वर्षदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित घनश्याम मिर्गौला र मानसिक समस्याबाट समेत ग्रसित थिए । कुनै समय दर्शकलाई हँसाएर खुसी बाँड्ने र स्टेज शोहरूमा व्यस्त रहने गौतमको अल्पायुमै मृत्यु भएको भन्दै दर्शक तथा कलाकारहरुले दुख मनाउन गरिरहेका छन् ।
उनको निधनमा कलाकारहरूले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले सामाजिक संजालबाट शोक व्यक्त गरेका छन् । गौतमको पार्थिव शरीरलाई आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।