
काठमाडौं।गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। बुधबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीको निरीक्षण भ्रमण गर्दै उनले उक्त निर्देशन दिएका हुन।
निरीक्षणका क्रममा गृहमन्त्री लेखकले विपद् सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास, विपद् उद्धार सामग्री भण्डार, पुलिस डिजास्टर रेस्पोन्स टिम र विशिष्टिकृत उद्धारकर्ता समूहको अवलोकन गरेका थिए। उनले विपद् व्यवस्थापन सम्बन्धी विविध गतिविधिबारे विस्तृत जानकारी समेत लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपालको भौगोलिक अवस्था अत्यन्त जोखिमपूर्ण रहेको र जुनसुकै बेला पनि विपद् आइपर्न सक्ने सम्भावना औंल्याए। उलेले भने, ‘देशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने प्रहरीको मुख्य जिम्मेवारी हो, तर यसका साथै विपद् व्यवस्थापन पनि प्रहरीको उत्तिकै महत्वपूर्ण दायित्व हो।’ उनले विपद्को समयमा नागरिकको उद्धारमा कुनै गुनासो नआउने गरी उच्च क्रियाशीलताका साथ खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद्को समयमा नेपाल प्रहरी अग्रपंक्तिमा रहेर उद्धार कार्यमा जुट्ने गरेको उल्लेख गरे। उनले स्थानीय तह तथा अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गरी नागरिकको विश्वास जित्ने गरी उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए।
सो अवसरमा प्रहरी महानिरीक्षक दीपक थापाले धन्यवाद ज्ञापन गर्दै विपद्का सम्भावित चुनौतीहरूको सामना गर्न नेपाल प्रहरी चौकी स्तरसम्म अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा तत्काल परिचालन हुन सक्ने अवस्थामा रहेको बताए। उनले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्धारमा खटिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए।

कार्यक्रमको शुरुमा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना सम्बन्धी प्रस्तुतीकरण गरेका थिए।