
विराटनगर । सप्तरीमा लुटेरा समूहले लुटपाटका क्रममा एक जनाको गोली प्रहार गरी हत्या गरेको छन । सप्तरी सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको हो ।
घटनामा कान्तालालका भाइ रामाकान्त घाइते छन् । उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
शुक्रबार बिहान करिब १ बजे तिर ४–५ जनाको लुटेरा समुहले चौधरीको घरमा लुटपाट भएको थियो । लुटपाटका क्रममा प्रतिकार गर्दा घर धनी कान्तालाल चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त दाजुको घरमा पुगेका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र लगभग ६० हजार नगद समेत लुटपाट गरेर फरार भएको स्थानीयले बताएका छन् ।
डाँका समूहले आक्रमण गरेको जानकारी शुक्रबार बिहान १ः२० बजे पाएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि नौ जनाको टोली खटिएको थियो ।
घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।