
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप स्थित कान्तिपुर दैनिकका उप-सम्पादक टीकाप्रसाद भट्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पत्रकारको आवरणमा सरकारी कर्मचारीहरुलाई धम्क्याउने र रकम असुल्ने गरेको आरोप लगाउदै अख्तियारले भट्टका विरुद्ध मुद्दा दायर गरेको हो ।
भट्ट ‘कान्तिपुर दैनिक’संगै रामेछापको मन्थली ‘नगर विकास समिति’मा अस्थायी नासु पदमा कार्यरत थिए । भट्टले नगर विकास समितिको कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतले विभिन्न कार्यालयहरुबाट काज भ्रमण अनि बैठक भत्ता लिएको अख्तियारले जनाएको छ । अख्तियारले त्यसलाई गैरकानूनी लाभ भनेको छ ।
भट्टलाई कान्तिपुर दैनिकको पूर्णकालीन पत्रकार भएर त्यहाँबाट नियमित पारिश्रमिक तथा तलब लिनुका साथै नगर विकास समिति लगायत अन्य निकायबाट पनि पारिश्रमिक लिएको अख्तियारको आरोप छ ।
साउन, २०४९ सालदेखि अस्थायी खरिदारमा कार्यरत उनले लगत्तै अनिश्चितकालिन म्याद थप गरेको कैयौ निकायबाट एकसाथ लाभ लिएको अख्तियारको आरोप छ ।
अख्तियारको आरोप अनुसार, उनी मन्थली बचत तथा ऋण सहकारी, रामेछाप, मिडाड नेपाल नामक विज्ञापन एजेन्सी लगायतमा कार्यरत थिए । अख्तियारले उनीमाथि २०४९ सालदेखि अहिलेसम्म १ करोड १५ लाख रुपैंया गैरकानूनी लाभ लिएको अख्तियारको आरोप छ ।
अख्तियारले उनलाई कमिसन दिई भ्रष्टाचार गरेको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजनाका तत्कालिन प्रमुखहरु अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे, सुरेश दाहाल लगायतमाथि समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।