किन बढ्यो ‘ट्रम्प’ र ‘मस्क’बीच दुस्मनी? यस्तो छ कारण !

दियोपोस्ट संवाददाता  

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै पहिलो धनि ब्यक्ति एलोन मस्कबीचको सम्बन्ध चिसिदै गएको छ । केही समयअघिसम्म एक–अर्काको पर्याय जस्ता उनीहरु अहिले दुश्मन झैं भएका छन् ।

संसारकै दुई शक्तिशाली व्यक्तिहरु सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा एकअर्काविरुद्ध तीखो आलोचना र गालीगलौजमा उत्रिएका छन् । यो वाकयुद्धको जड ट्रम्पको प्रस्तावित आर्थिक नीति विधेयक र मस्कको त्यसप्रतिको कडा असहमति रहेको छ ।

मस्कले यो विधेयकलाई ‘अमेरिकी अर्थतन्त्रको लागि घातक’ भन्दै सार्वजनिक रूपमा आलोचना गरे । उनले आफ्नै सामाजिक सञ्जाल एक्समा लेखे, ‘यो विधेयकले सरकारी घाटा बढाउनेछ र मन्दी निम्त्याउनेछ । यसको पक्षमा मतदान गर्ने सांसदहरूले लज्जित हुनुपर्छ ।’

मस्कको यो आलोचनाले ट्रम्पलाई व्यक्तिगत रूपमा चोट पुर्यायो । ट्रम्पले तुरुन्तै प्रतिक्रिया दिँदै मस्कका कम्पनीहरू, विशेषगरी टेस्ला र स्पेसएक्सले प्राप्त गरिरहेको सरकारी अनुदान र ठेक्का रद्द गर्ने धम्की दिए । ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखे, ‘इलोनले अर्बौं डलरको सरकारी ठेक्का पाएका छन्, ती सबै रोकेर हामी बजेट सन्तुलनमा ल्याउन सक्छौं ।’ यो धम्कीले मस्कलाई थप आक्रोशित बनायो ।

मस्कले ट्रम्पको धम्कीलाई चुपचाप सहने मुड देखाए । उनले आज बिहान एक्समा पोष्ट गर्दै ट्रम्पको नीतिलाई ‘विषाक्त’ भन्दै आलोचना गरे । थप विवादास्पद रूपमा उनले ट्रम्पलाई जेफ्री एप्स्टिनको फाइलसँग जोडिएको अप्रमाणित आरोप लगाए, जसलाई ट्रम्पको प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले ‘आधारहीन र निन्दनीय’ भन्दै खण्डन गरिन् । मस्कले अमेरिकी अन्तरिक्ष कार्यक्रमको मेरुदण्डका रुपमा रहेको स्पेसएक्सको ड्र्यागन स्पेसक्राफ्टको फिर्ती प्रक्रिया तीव्र बनाउने चेतावनी पनि दिए ।

ट्रम्पले पनि जवाफमा कुनै कसर बाँकी राखेनन् । उनले मस्कलाई ‘आत्ममुग्ध अर्बपति’ र ‘अमेरिकी मूल्यविरोधी’ भन्दै आलोचना गरे । ट्रम्पले मस्कको स्पेसएक्सको योगदानलाई कम आँक्दै ड्र्यागन स्पेसक्राफ्टलाई ‘महँगो खेलौना’ को संज्ञा दिए । उनले शुक्रबार ९ः५२ बजे (नेपाल समय) ट्रुथ सोसलमा लेखे, ‘इलोनले मेरो नेतृत्वमा प्राप्त गरेको अवसरको कदर गरेनन्, उनको कम्पनीले सरकारी ठेक्का लिन्छ, तर मलाई आलोचना गर्छ । यो देशद्रोह हो ।’

आर्थिक प्रभावः मस्कको टेस्लाको शेयर बिहीबार एकै दिन १४५ ले खस्कियो, जुन ट्रम्पको सरकारी ठेक्का रद्द गर्ने धम्कीको प्रत्यक्ष परिणाम मानिएको छ । नासासँग अर्बौं डलरको ठेक्का लिएको स्पेसएक्स पनि जोखिममा परेको छ । विश्लेषकहरूका अनुसार यो विवादले अमेरिकी अन्तरिक्ष कार्यक्रम र विद्युतीय सवारी उद्योगमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।

ट्रम्प र मस्कको सम्बन्ध २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको अभियानबाट गहिरिएको थियो । मस्क प्रायः राजनीतिमा तटस्थ रहन्थे । मक्स ट्रम्पको राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अभियानमा सक्रिय रूपमा सहभागी भएका थिए । उनले ट्रम्पको रिपब्लिकन अभियानलाई करिब २५० मिलियन डलरको आर्थिक सहयोग गरे, जुन उनको राजनीतिक सहभागिताको सबैभन्दा ठूलो कदम थियो । मस्कले ट्रम्पलाई एक ‘प्रगतिशील’ र ‘नवप्रवर्तनलाई समर्थन गर्ने’ नेताको रूपमा चित्रण गरेका थिए ।

ट्रम्पले पनि मस्कको प्रशंसा गर्न कुनै कसर बाँकी राखेनन् । उनले मस्कलाई ‘आधुनिक जीनियस’ र ‘अमेरिकी नवप्रवर्तनको प्रतीक’ भन्दै सार्वजनिक रूपमा सम्मान व्यक्त गरे । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि उनले मस्कलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डोग) को सह–प्रमुख नियुक्त गरे, जहाँ मस्क र उनका सहयोगी विवेक रामास्वामीले सरकारी खर्च कटौती र प्रशासनिक सुधारको जिम्मेवारी लिए ।

फेब्रुअरी २०२५ मा फक्स न्यूजलाई दिएको संयुक्त अन्तर्वार्तामा ट्रम्प र मस्कले एकअर्काको तारिफ गर्दै साझा दृष्टिकोणको कुरा गरेका थिए । मस्कले त्यसबेला भने, ‘ट्रम्पको नेतृत्वमा अमेरिका फेरि नवप्रवर्तनको शिखरमा पुग्नेछ ।’

तर, यो मित्रता लामो समय टिकेन । मस्कले मे २९, २०२५ मा डोगबाट अप्रत्याशित राजीनामा दिए । जसले ट्रम्पसँगको उनको सम्बन्धमा तनावको संकेत देखा पर्यो । राजीनामाको मुख्य कारण ट्रम्पको प्रस्तावित आर्थिक नीति विधेयक थियो, जसमा उत्पादन र ऊर्जा कम्पनीहरूलाई कर छुट, रक्षा खर्चमा ठूलो वृद्धि, र सरकारी ऋणको सीमा ४ ट्रिलियन डलरसम्म बढाउने योजना थिए ।

 

सिफारिस