ईदका अबसरमा प्रचण्डको सन्देश : चाडपर्वहरु समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्व हुन्

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै चाडपर्वहरु कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको बताएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा)को अवसरमा शुधकामना दिँदै अध्यक्ष प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त भएको बताए ।

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ । मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् ।’

उनले आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सबै नेपालीबिच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।