बकर इदका अवसरमा राष्ट्रपतिको संदेश : रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव बाढौँ

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व बकर इदको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, “विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ–आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु ।”

उनले बकर इदको माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।