अख्तियारले लगाएको भ्रष्टाचार मुद्धाको कुनै आधार छैन, आरोपको डटेर सामना गर्छु : माधव नेपाल

दियोपोस्ट संवाददाता

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको बताएका छन् । पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता आफुमाथिको मुद्धाको कुनै आधार नभएको प्रष्ट पारेका हुन् ।

उनले भने,’सबै गलत आरोपहरुका विरुद्धमा दृढताका साथ उभिने छु । मलाई विश्वास छ – न्याय पालिकाले न्याय दिनेछ । न्यायको जित हुनेछ । अन्यायको हार हुनेछ ।’

उनले अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस नखाएको बताउँदै उनले डराउनु पर्ने आवश्यक नभएको बताए । ‘हामी आत्तिनु पर्ने आवश्यकता छैन । चुनौती आइलागेको छ । यसको सामना गर्ने हो । हामी भाग्ने होइन’, उनले भने, ‘असल मनसायका साथ कुनै काम गरिएको छ भने आत्तिनु पर्ने केही आवश्यक हुँदैन ।’

अध्यक्ष नेपालले कुनै निजी स्वार्थ र फाइदाको लागि कामसमेत नगरेको उनको भनाइ छ ।

पतञ्जलिको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।