अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीलाई आज ‘चार्टर्ड विमान’मार्फत् नेपाल ल्याइदै

दियोपोस्ट संवाददाता

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका कम्तीमा ४० नेपालीहरु आज नेपाल ल्याइदै छ । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् नेपाल फर्काइदिएको हो ।

नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नभएको बताए ।

१०–१२ दिन अगाडि नै नेपालीहरुलाई डिपोर्ट गरिएको भनेर पत्र आएको भएता पनि पत्रमा नेपालीहरुको संख्या उल्लेख नगरेको प्रवक्ता न्यौपानेले बताए । अध्यागमन स्रोतका अनुसार अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अनुमान छ ।

सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरु रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको हो । अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरुलाई छाड्दै–छाड्दै आज अपराह्न सवा चार बजे काठमाडौं आइपुग्ने र फर्किने छ ।

आज काठमाडौं अवतरण गर्न लागेका नेपालीहरुलाई भने के कारणले डिपोर्ट गरिएको हो भन्ने व्यहोरा पत्रमा स्पष्ट नखुलेको प्रवक्ता न्यौपानेले बताए । आज आउन लागेका नेपालीहरु अमेरिकाको इमिग्रेसन कानुन उल्लंघन गरेकाले डिपोर्ट गरिएको भन्ने व्यहोरा पत्रमा उल्लेख प्रवक्ता न्यौपानेले जानकारी दिए ।

डिपोर्ट गरिएका मध्ये अवैध रुपमा प्रवेश गरेको हो या ओभर स्टे हो कि वा अरु कुनै कारण हो भन्ने पत्रमा उल्लेख नगरिएको उनले बताए । डिपोर्ट हुनेहरुमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको बताइएको छ ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरुमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।