नेपालमै पहिलोपटक ‘लिंग’ परिवर्तनसम्बन्धी शल्यक्रिया सफल

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर व्यक्तिमा पुरुष लिंगको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिला जननेन्द्रियको पुनःनिर्माण गरिएको हो ।

अस्पतालका प्रवक्ता तथा सह प्रा.डा. गोपाल सेढाइँले ती व्यक्ति पुरुष भएर जन्मिए पनि पछि हार्मोनका कारण ट्रान्सजेन्डरका रुपमा परिवर्तन भएको बताए ।

अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा जेठ १२ देखि १५ सम्म पारलैंगिक समुदायका लागि आयोजित विभिन्न शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो ।

सह प्रा.डा. गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए । लिंग परिवर्तनजस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने हुँदा नेपालमा नै यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्ने उनले बताए ।

शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा. एलिरेजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्रा.डा.जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता थियो ।

डा. श्रेष्ठका अनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा जेन्डर अफर्मिङ क्लिनिक स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।