दाङमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ घाइते

दियोपोस्ट संवाददाता  

दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित तुलसीपुर–अमिलिया सडकखण्डमा आइतबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र बखरियामा विद्यार्थी छोडेर फर्किरहेको रा १ क ८७० नम्बरको ज्ञानज्योति बोर्डिङ स्कुलको खाली बस ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा दंगीशरण गाउँपालिका–२ की ३७ वर्षीया शान्ता खड्का चौधरी र ६५ वर्षीय नारायण भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा ३४ जना घाइते भएको र घाइतेहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिए ।

दुर्घटनापछि ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ४–५ मिटर तल खसेको थियो। घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी दमारगाउँबाट प्रहरी सहायक निरीक्षक पाराश्वर डाँगीको कमान्डमा ३ जना र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरको कमान्डमा १२ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

घाइतेहरू सबै दंगीशरण गाउँपालिका–२ का बासिन्दा रहेको प्रहरी निरीक्षक रानाले बताएका छन् । दुर्घटनामा संलग्न दुवै बसका चालक र स्कुल बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस