‘नेपाल छाला–जुत्ता उत्पादक संघ’को साधारणसभा सम्पन्न, हरिराम बोगटी अध्यक्षमा निर्वाचित

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालमा छाला जुत्ताको प्रवर्धनका लागि स्थापना गरिएको अग्रणी संस्था ‘नेपाल छाला जुत्ता उत्पादक संघ’को १४औँ वार्षिक साधारणसभा आइतबार राजधानीमा सम्पन्न भएको छ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने नाराका साथ साधारणसभामा सम्पन्न भएको हो ।

साधारणसभाले हरिराम बोगटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष पदमा दिलकुमार बिशुन्खे र उपाध्यक्ष पदमा लक्ष्मण मंग्राती निर्वाचित भएका छन् ।

त्यस्तै बिधान बोगटी महासचिव, कुमार मंग्राती सचिव, सान्बाबू बोगटी सह–सचिव र प्रमेश बिशंखे कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । संघका नव निर्वाचित सदस्यहरुरुमा योगेश कुमार नेपाली, राजन रम्तेल, राजु नेपाली, रामकुमार तोलाङे, रोशन पुर्कोटी रहेको संघका सल्लाहकार रीवन मग्रातीले जानकारी दिए ।

सो अवसरमा ‘नेपाल घरेलु तथा साना उद्योग महासंघ’का अध्यक्ष उमेश सिंहले परम्परागत पेशाको महत्वमाथि जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सिंहले छाला जुत्ता निर्माण ब्यवशाय ऐतिहासिक धरोहर बोकेको पेशा भएको भन्दै यसको संरक्षण तथा प्रवद्र्धनका लागि महासंघ दृढताका साथ अगाडि बढ्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै ‘उद्योग तथा वाणिज्य’ कार्यालय, काठमाडौँका प्रमुख यादवनाथ आचार्यले छाला जुत्ता सम्बन्धी पेशाको पुस्तान्तरणमा चुनौती भएको भन्दै नयाँ पुस्तालाई यस पेशामा आकर्षित गर्न कठिन भएको बताए । प्रमुख आचार्यले छाला जुत्ता निर्माण ब्यवशायीले भोग्दै आएको समस्यालाई समाधान गर्न प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष हरिराम बोगटीले छाला जुत्ता उद्योगको संस्थागत विस्तार र उद्यमीहरुको हितमा अझ सक्रिय र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

संघका नव निर्वाचित महासचिव बिधान बोगटीले संस्थाको संक्षिप्त परिचय र उपलब्धीबारे जानकारी दिएका थिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष रामहरी तोलांगेले परम्परागत पेशाकर्मीबाट उद्यमी बन्न आह्वान गर्दै व्यावसायिक सोँच र आधुनिकीकरणको आवश्यकतामा जोड दिए । उनले छाला जुत्ता उद्योगको उज्ज्वल भविष्यका लागि सोच, नीति र बजारको सही तालमेल अपरिहार्य रहेको कुरा औँल्याए ।

सो अवसरमा संघका निवर्तमान अध्यक्ष जीवन नेपालीले यम.आर.पी. तथा स्थायी प्रदर्शनी कक्षको विषय उठान गर्दै सरकारी नीतिगत सहयोग तथा पूर्वाधारको आवश्यकतामा प्रकाश पारे ।

त्यस्तै, निवर्तमान पूर्व अध्यक्ष बाशु रोक्काले नेपालको ८० प्रतिशत बजार नेपाली जुत्ताले ओगटेको हुँदा स्वदेशी उत्पादनको विशाल सम्भावना र आत्मनिर्भर अर्थतन्त्रको आधार रहेको प्रष्ट पारे ।

साधारणसभामा संघका कोषाध्यक्ष सान्बाबू बोगटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष हरिराम बोगटीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा परम्परागत नेपाली छाला जुत्ता उद्योगको बजार विस्तार, गुणस्तर सुधार र नवीन प्रविधि उपयोगमा जोड दिइएको थियो । साधारण सभाले नेपाली छाला जुत्ता उद्योगमा उल्लेखनीय स्थान ओगटेको पुख्र्यौली उद्यमीहरुको विकासका लागि ठोस योजना र सहकार्यको ‘ब्लुप्रिंट’ तयार गर्न आधार तय गरेको बताइएको छ ।

नवनिर्वाचित कार्यसमितिले छाला जुत्ता उद्यमीहरुलाई संगठित गर्नुका साथै नेपाली ब्रान्डको प्रवद्र्धन, बजार विस्तार, र उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

साधारणसभामा नेपाल सरकारका प्रतिनिधि, पूर्व एवं वर्तमान कार्यसमिति सदस्य, सल्लाहकार, उद्यमी, आपूर्तिकर्ता, पेशागत व्यवसायी लगायत अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति थियो ।

 

सम्बन्धित खबर

सिफारिस