
काठमाडौं । एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुमा पार्टी ‘हाइ कमान्ड’ले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रकृया अगाडी बढेको छ । निरन्तरको प्रयास पछि पनि सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए ।
अध्यक्षका दाबेदार प्रकाश पौडेल, दीपक धामी पक्षले चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेका थिए । कार्यतालिका अनुसार उम्मेदवारको दर्ता फारम ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख छ । मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ ।
