काठमाडौँ । रुसले युक्रेनको राजधानीमा हवाई आक्रमण गरेको छ । राजधानी किभको दक्षिणी सहर ओडेसास्थित एक प्रसूतिगृहमा भएको आक्रमणमा कम्तीमा दुईजना युक्रेनीको मृत्यु भएको छ ।
हवाई आक्रमणमा चार जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले रुस(युक्रेन लडाइँ सुरु भएको तीन वर्षयताकै सबैभन्दा ठूलो हवाई आक्रमण भएको उल्लेख गरेका छन् । रुसी आक्रमणबाट किभका १० मध्ये सात जिल्ला प्रभावित भएका छन् ।
युक्रेनले आर्कटिक र साइबेरियासहितका चारवटा एयरफिल्डमा रहेका ४१ रुसी सेनाका विमान ध्वस्त पारेको घटनाको बदलामा यो आक्रमण भएको रोयटर्सले उल्लेख गरेको छ । युक्रेनी हवाई सेनाले रुसले ३१५ ड्रोन आक्रमण गरेको र त्यसमध्ये २७७ वटा खसालेको दाबी गरेको छ । रुसी आक्रमण झन्डै पाँच घण्टासम्म चलेको बताइएको छ ।
राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आक्रमणलाई किभमाथि भएको पछिल्लो ठूलो आक्रमण भएको बताएका छन् । उनले रुसी मिसाइल र ड्रोन आक्रमणले अमेरिकासहित विश्वका अन्य देशले चालेको शान्तिको प्रयासलाई बिथोल्ने प्रयास भएको प्रतिकृया दिएका छन् ।