
काठमाडौ, २७ जेठः गृहमन्त्री रमेश लेखक मङ्गलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता विधेयक सम्बन्धी आफ्नो धारणा राख्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्थासहितको विधेयक पारित गरेको छ । राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकले बिधेयक पारित गरेको हो ।
समितिका सभापति रामहरि खतिवडाका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था भए पनि पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो ।
आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।
त्यस्तै, बिेधेयकमा कार्यालय प्रमुखको भूमिकामा रहेका नायब सुब्बाले पनि नागरिकता दिन सक्ने व्यवस्था उल्लेख गरिएको छ । यो विधेयक पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आएपछि कार्यालय प्रमुखको रूपमा काम गरिरहेका नायब सुब्बाले पनि नागरिकता दिन पाउनेछन् ।