कठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा हिंसात्मक गतिबिधि गरेको आरोपमा दुर्गा प्रसाईसहित ७ जनालाई थुनामा राख्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईसहित ७ जनालाई थुनामा राख्न आदेश दिएको हो ।
तिनकुने घटनाका जनकमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर भएको थियो ।
५० जनामध्ये उपस्थितहरूको बयान र थुनछेक बहस पछि अदालतले यो निर्णय गरेको हो । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवल शमशेर राणा अदालतको फरार प्रतिवादी हुन् । राणासहित हाजिरी जमानीमा छुटेका ११ जना सम्पर्कमा छैनन् ।
धरौटीमा छुट्न आदेश पाएकाहरूलाई १० हजार देखि १ लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ । तीनकुने घटनापछि केही समय फरार भएर भारतबाट पक्राउ परेका प्रसाईंसहितको आदेश सार्वजनिक हुनुअघि अदालत परिसरमा भिड थियो ।