विराटनगर । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । भारतको प्राविधिक सहयोगमा निर्माणधिन बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो ।
मृत्यु हुनेमा बारा जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।
घटनामा ६ जना मजदुर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार नयाँ प्रविधिको ७० मिटर लामो बेलिब्रिज जडान गरिरहेका बेला भाँचिएको थियो । शनिबार पुल जडान गरेर सक्ने तयारी थियो । तर निर्माणका क्रममा नै भाँचिएको उनले बताए ।
०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि अवरुद्ध राजमार्गमा बेलिब्रिज निर्माण गरी यातायात सुचारु भएको थियो । तर गत वर्ष असोज १२ गते आएको बाढीले त्यो बेलिब्रिज पनि बगाएको थियो ।