
काठमाडौं । गत चैत १५ गतेको तीनकुने घटनामा फरार अभियुक्त भनिएका राप्रपाका महामन्त्री धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । राणा आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हुन् ।
राणा सोमबार बिहान आफैं अदालत आएका हुन् । अदालतमा हाजिर भएलगत्तै उनको बयान सुरु गर्न लिने तयारी भइरहेको छ । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश शिवप्रसाद खनालको इजलासमा उनको बयान लिन थालिएको हो ।
उनको बयान सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने बताइएको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने सम्पर्कबिहिन छन् । गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।
प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना भने पुर्पक्षका लागि थुनामा छन् ।