
दार्चुला । भारतको धार्चुलामा ब्यक्ति हत्यामा संलग्न आरोपी भागेर नेपाल तर्फ आएको भन्ने अपुष्ट खबरका आधारमा महाकाली नदी पुलको बाटो बन्द गराइएको छ । उनीहरुलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले भारतीय पक्षले नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पुलको बाटो बन्द गराएको हो ।
जुन ७ तारिखको दिन भारत धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको बिषयमा धार्चुलाबासीले आन्दोलन गरिरहेका थिए । हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै गत शनिबार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्ट नेतृत्वको टोलीले पिथरागढका उप-जिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाएको थियो ।
हत्यामा संलग्न ब्यक्ति भागेर नेपाल गएको भन्ने शंका गरि नेपाललाई दवाव दिनका लागि पूलको बाटो बन्द गराईएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । भारतीय पक्षले धारचुला बन्द र नेपाल–भारत सीमा पुल बन्द गर्ने घोषणा गरेको उनले बताए ।
पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आवत–जावत बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘धारचुलामा भएको मर्डरमा संलग्न दुई जना व्यक्ति भागेर नेपाल आएको भन्ने अपुष्ट खबर छ । नेपालतर्फ हामीले पनि खोजिरहेका छौं तर फेला परेको छैन,’
हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्यो भनेर दबाब दिने उद्देश्यले स्थानीयले बाटो बन्द गराएको भारतीय अधिकारीहरुले जानकारी दिएको उनले बताए ।
भारतको धारचुलाका डिएम (डिस्ट्रिक मजिस्ट्रेट) सँग बाटो खुलाउन पहल गर्ने विषयमा कुराकानी भइरहेको उनले जानकारी दिए ।
आज बिहान ११ बजेदेखि भारतीयहरुले प्रदर्शन गर्दै आएका छन् । त्यतिबेलादेखि नै महाकाली नदी माथिको पुलको बाटो बन्द छ । दिउँसो केही मिनेट बाटो खुले पनि अहिले फेरि बन्द भएको उनले बताए ।