विनयी खोलामा आएको बढीले ‘डाइभर्सन’ बगाउँदा यातायात ठप्प

दियोपोस्ट संवाददाता

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले पूनः डाइभर्सन बगाएको छ । गएरातिको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवम् डिएसपी मधु नेपालका अनुसार डाइभर्सनभन्दा माथिबाट पानी बगिरहेकाले त्यहाँबाट गाडी चलाउन सम्भव छैन ।

त्यसैले मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु होङ्सी सिमेन्टको गेट हुँदै, सर्दि गाउँ हुँदै दुम्किबास बजार निस्किने गरेका छन् । तर, दुम्किबास दाउन्नेको उकालो उक्लिन ती गाडीहरुलाई पनि समस्या भइरहेको छ ।

दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा समस्या भएको डिएसपी नेपालले जानकारी दिए । त्यसैले दुम्किबास क्षेत्रमा पनि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्रन् । त्यहाँ करिब दुई सय सवारी साधनहरुको लाइन लागेको प्रहरीले जनाएको छ ।

घण्टौंसम्म जाममा बस्नुपर्दा सवारी साधनका चालक, सहचालकदेखि सयौं यात्रुहरु समस्यामा परेका छन् ।