दक्षिणी फिलिपिन्समा सोमबार गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले जनाएका छन्। भूकम्पका कारण दर्जनौँ मानिस बेपत्ता भएका छन् भने ठूलो संख्यामा घाइतेहरू अस्पताल भर्ना गरिएको छ।
राष्ट्रिय विपद् अधिकारीहरूका अनुसार कम्तीमा १३४ जना घाइते भएका छन् भने करिब एक दर्जन व्यक्ति अझै हराइरहेका छन्। भूकम्पको केन्द्रबिन्दु जनरल सान्तोस सिटीको दक्षिणी क्षेत्रमा रहेको बताइएको छ।
भूकम्पपछि करिब दुई घण्टामै ६.५ म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो, जसले उद्धार तथा राहत कार्यलाई थप कठिन बनाएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण संस्था युएसजिएसले पराकम्पको पुष्टि गरेको हो।
सबैभन्दा बढी क्षति जनरल सान्तोष आसपास देखिएको छ, जहाँ सपिङ सेन्टर र विद्यालय भवनहरू भत्किएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा भग्नावशेषमा उद्धारकर्मीहरूले हराइरहेका व्यक्तिहरूको खोजी गरिरहेको दृश्य देखिन्छ।
अति प्रभावित सारङ्गानीका विपद् प्रमुख रेने पुन्जालानका अनुसार ग्लान नगरपालिकामा पहिरोले घर पुरिँदा मात्रै १४ जनाको मृत्यु भएको छ। उनका अनुसार भूकम्पलगत्तै पहिरो खसेकाले धेरै स्थानमा ठूलो मानवीय क्षति भएको छ, तर केही क्षेत्रबाट अझै पूर्ण विवरण आउन बाँकी छ।
सञ्चार तथा विद्युत् आपूर्ति अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्। साथै पराकम्पको जोखिम कायमै रहेकाले थप क्षति हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
सुनामी चेतावनीपछि करिब २ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रशान्त महासागर क्षेत्रमा अवस्थित एबअषष्अ इअभबल वरपरका तटीय क्षेत्रका लागि सुनामीको सम्भावना रहेको भन्दै सतर्कता अपनाइएको छ।
सामाजिक सञ्जालमा देखिएका दृश्यहरूमा विद्यालयका बालबालिका त्रासमा चिच्याइरहेको, भवनहरू ढलिरहेको र बजार क्षेत्र पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ। एजेन्स िफ्रेन्च प्रेसका पत्रकारहरूले उद्धार कार्य अझै जारी रहेको र स्थिति गम्भीर रहेको बताएका छन्।
प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले समेत फिलिपिन्ससहित इन्डोनेसिया, पलाउ, ताइवान र पपुवा न्युगिनीका तटीय क्षेत्रमा सम्भावित सुनामीको जोखिमबारे चेतावनी जारी गरेको छ।