काठमाडौँ । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित इवार्ड एअर फोर्स बेसमा अमेरिकी वायु सेनाको बी-५२ स्ट्राटोफोर्ट्रेस बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै ८ जनाको मृत्यु भएको छ। दुर्घटना सोमबार बिहान स्थानीय समयअनुसार करिब ११ः२० बजे नियमित परीक्षण उडानका क्रममा भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
वायु सेनाका अनुसार विमानले उडान भरेको केही क्षणमै नियन्त्रण गुमाएर दुर्घटना भएको थियो। दुर्घटनास्थलमा तत्काल उद्धार टोली परिचालन गरिए पनि प्रारम्भिक मूल्याङ्कनले दुर्घटनाबाट कोही पनि जीवित बच्न नसक्ने देखाएको थियो।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा सैनिक कर्मचारी, सरकारी प्राविधिक कर्मचारी तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरू रहेका छन्। विमान अमेरिकी वायु सेनाको राडार आधुनिकीकरण कार्यक्रमसँग सम्बन्धित परीक्षण उडानमा रहेको बताइएको छ।
वायु सेनाका उपकमाण्डर कर्नेल जेम्स हेयसले घटनाप्रति दुःख व्यक्त गर्दै ‘हामीले आठ महान अमेरिकीहरू गुमाएका छौँ’ भनेका छन्। मृतकहरूको नाम परिवारलाई जानकारी गराउने प्रक्रिया पूरा नभएसम्म सार्वजनिक नगरिने जनाइएको छ।
दुर्घटनापछि एडवर्ड्स एयर फोर्स बेसको उडान सञ्चालन केही समयका लागि बन्द गरिएको थियो र आउने विमानहरू अन्यत्र मोडिएका थिए। घटनाको कारण अझै खुल्न सकेको छैन। अमेरिकी वायु सेनाले औपचारिक छानबिन सुरु गरेको छ, जसको प्रतिवेदन आउन करिब छ महिनासम्म लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।
बी–५२ स्ट्राटोफोर्ट्रेस अमेरिकी वायु सेनाको सबैभन्दा पुरानो तथा रणनीतिक बमवर्षक विमानमध्ये एक हो। सन् १९५० को दशकदेखि सेवामा रहेको यो विमान आणविक तथा परम्परागत दुवै प्रकारका हतियार बोक्न सक्षम मानिन्छ र हालसम्म पनि अमेरिकी सैन्य रणनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।