फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिबाट बाहिरिने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको हो।

निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। यस अवधिमा एन्फाअन्तर्गतका राष्ट्रिय टोली तथा क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

फिफाले जारी गरेको सूचनाअनुसार एन्फा तथा यससँग आबद्ध सदस्य, पदाधिकारी र अन्य अधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी)द्वारा सञ्चालित विकास कार्यक्रम, तालिम र प्रशिक्षण गतिविधिबाट समेत वञ्चित हुनेछन्।

यस निर्णयको प्रत्यक्ष असर नेपाली फुटबलमा पर्ने भएको छ। राष्ट्रिय टोलीदेखि क्लबस्तरसम्मका सबै टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट बाहिरिनेछन् भने फिफा र एएफसीमार्फत प्राप्त हुँदै आएको आर्थिक सहयोगसमेत रोकिनेछ।

फिफाले आगामी फिफा कंग्रेसअघि नै आवश्यक अवस्था र प्रगतिको मूल्यांकन गर्दै फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले जुनसुकै समयमा निलम्बन फुकुवा गर्न सक्ने उल्लेख गरेको छ।

सिफारिस