भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, राजधानी काराकासमा ठूलो क्षति

दियोपोस्ट संवाददाता  

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा बुधबार लगातार दुई शक्तिशाली भूकम्प जाँदा राजधानी काराकाससहित विभिन्न क्षेत्रमा व्यापक क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण युएसजिएसका अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसको करिब ४० सेकेन्डभित्रै दोस्रो र अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पको केन्द्रबिन्दु काराकासको पश्चिम क्षेत्रमा रहेको मोरोन–सान फेलिपे आसपास रहेको बताइएको छ। तीव्र कम्पन राजधानी काराकास, ला ग्वाइरा, मिरान्डा, अरागुआ र काराबोबो लगायतका राज्यहरूमा महसुस गरिएको थियो।

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा भवनहरू भत्किएको, सडक चिरिएको र नागरिकहरू त्रसित हुँदै खुला स्थानतर्फ भागेको देखिएको छ। काराकासका केही आवासीय तथा व्यावसायिक भवनहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको जनाइएको छ।

भेनेजुएलाका अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत कार्य तीव्र बनाएका छन्। राजधानीको मेट्रो सेवा, केही रेलमार्ग र मुख्य अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। विद्युत्, पानी र सञ्चार सेवामा समेत अवरोध आएको बताइएको छ।

युएसजिएसले भूकम्पपछि “रेड अलर्ट” जारी गर्दै ठूलो मानवीय तथा आर्थिक क्षतिको सम्भावना औँल्याएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार हजारौँ मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ । यद्यपि समाचार तयार पार्दासम्म आधिकारिक मृतक र घाइतेको संख्या सार्वजनिक गरिएको छैन।

भूकम्पपछि क्यारिबियन क्षेत्रका केही भागका लागि सुनामी चेतावनी जारी गरिएको थियो। तर पछिल्लो मूल्याङ्कनपछि उक्त चेतावनी हटाइएको अधिकारीहरूले बताएका छन्।

भूकम्पविद्हरूका अनुसार यी दुई कम्पन “सिस्मिक डबलट” अर्थात् अत्यन्त छोटो अन्तरालमा हुने दुर्लभ शक्तिशाली भूकम्पीय घटना हुन्। केही प्रारम्भिक विश्लेषणले यसलाई भेनेजुएलामा पछिल्लो एक शताब्दीभन्दा बढी अवधिका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक भएको संकेत गरेको छ।

 

सिफारिस