११ जिल्लामा फैलियो ‘बर्ड फ्लु’, सतर्कता अपनाउन विभागको आग्रह

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पछिल्लो तीन महिनायता देशका ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा बर्ड फ्लु सङ्क्रमणको जोखिम बढ्दै गएको विभागले जनाएको छ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.नवराज श्रेष्ठका अनुसार बर्ड फ्लु चराचुरुङ्गी तथा कुखुराजन्य पक्षीमा देखिने अत्यन्त सङ्क्रामक विषाणुजन्य रोग हो। इन्फ्लुएन्जा ‘ए’ भाइरसका विभिन्न प्रकारका कारण फैलिने यो रोग सङ्क्रमित पक्षीसँग प्रत्यक्ष सम्पर्कमा आउँदा वा तिनको दिसा तथा र्‍यालको सम्पर्कबाट मानिसमा समेत सर्न सक्ने जोखिम रहने उनको भनाई छ ।

विभागका अनुसार नेपालमा हाल एच-फाइभ एन-सेभेन (H5N7) र एच-नाइन एन-टु (H9N2) प्रकारका भाइरस बढी सक्रिय छन्। तीमध्ये एच-फाइभ एन-वान (H5N1) लाई सबैभन्दा घातक मानिन्छ।

मानिसमा ‘बर्ड फ्लु’को सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, आँखा सुनिने, श्वासप्रश्वासमा समस्या हुने तथा शरीर दुख्ने जस्ता लक्षण देखिन सक्छन्। कुखुरामा भने अण्डा उत्पादन घट्ने, अण्डाको आकार सानो हुने, टाउको बटार्ने, सेतो वा हरियो दिसा गर्ने, स्नायु प्रणालीमा असर देखिने, सिरलोती सुनिने तथा अस्वाभाविक रूपमा ठूलो सङ्ख्यामा मृत्यु हुने लक्षण देखापर्ने डा. श्रेष्ठले बताए।

उनका अनुसार कुखुरा फार्म, मासु पसल तथा कुखुराजन्य व्यवसायमा संलग्न व्यक्तिहरू उच्च जोखिममा रहने भएकाले मास्क, पञ्जा र बुटको अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ। साथै, काम सकेपछि साबुनपानीले हातखुट्टा राम्रोसँग धुने, फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने, सङ्क्रमित वा मरेका कुखुराको सुरक्षित व्यवस्थापन गर्ने तथा दाना र कुखुरा एउटै सवारीसाधनमा ओसारपसार नगर्न विभागले आग्रह गरेको छ।

फार्ममा नियमित सरसफाइ र जैविक सुरक्षा (बायोसेक्युरिटी) अपनाउनुपर्नेमा जोड दिँदै डा. श्रेष्ठले जङ्गली चराको सम्पर्कबाट फार्मलाई जोगाउन विशेष सावधानी अपनाउनुपर्ने बताए। रोगी कुखुराको ओसारपसार वा मरेका कुखुरा जथाभावी फाल्दा सङ्क्रमण थप फैलिन सक्ने भएकाले अस्वाभाविक रूपमा कुखुरा वा अन्य पक्षी मरेको देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।

यसैबीच, बर्ड फ्लु देखिएपछि कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर सेवन गर्दा भाइरस नष्ट हुने भएकाले त्यसबाट सङ्क्रमण हुने जोखिम अत्यन्त न्यून रहने भएकाले कुखुराजन्य सबै खाद्य पदार्थ राम्ररी पकाएर मात्र उपभोग गर्न पनि बिभागले आग्रह गरेको छ।