मदन भण्डारीको जन्मजयन्तीमा वाम एकताको रटान, कम्युनिष्ट नेताद्वारा आत्मसमीक्षा र सहकार्यमा जोड

दियोपोस्ट संवाददाता  

काठमाडौँ। विभिन्न कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले वामपन्थी शक्तिबीच एकता, सहकार्य र आत्मसमीक्षाको आवश्यकता औँल्याएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र अन्य वामपन्थी नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा साझा मुद्दामा सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र निरंकुश प्रवृत्तिविरुद्ध वामपन्थी शक्तिहरूबीच शीघ्र सहकार्य आवश्यक रहेको बताए। सहकार्यमा ढिलाइ भए मुलुकले थप चुनौती सामना गर्नुपर्ने उनको भनाइ थियो।

उनले विगतका कमजोरीप्रति आत्मसमीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै सबै कम्युनिष्ट शक्तिले साझा जिम्मेवारीबोधका साथ राष्ट्रसामु देखिएका चुनौतीको सामना गर्नुपर्ने बताए। साथै, उनले गत भदौ २४ पछि राष्ट्रियता कमजोर हुँदै गएको र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अवस्थामा सबै लोकतान्त्रिक र वामपन्थी शक्तिले कार्यगत एकता गर्दै प्रतिगमनविरुद्ध उभिनुपर्ने धारणा राखे। समाजवाद निर्माणको लक्ष्य हासिल गर्नुअघि प्रतिगामी प्रवृत्तिलाई पराजित गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

ओलीले कम्युनिष्ट आन्दोलनमाथि चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाउँदै एमालेका नीति सही दिशामा रहेको दाबी गरे। जनताको बहुदलीय जनवाद (जबज) लाई समयानुकूल परिमार्जन गर्दै पार्टी अघि बढिरहेको पनि उनले बताए।

सो अवसरमा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन कमजोर हुनुका कारणबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए। बदलिँदो जनचाहना बुझ्न नसक्नु, संगठनभित्र देखिएका विकृति तथा कमजोरीहरूको समीक्षा नगरी एकता सम्भव नहुने उनको धारणा थियो।

उनले मदन भण्डारीको भनाइ स्मरण गर्दै केवल भाषणले परिवर्तन सम्भव नहुने उल्लेख गरे। मिल्न सकिने विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने र आत्मकेन्द्रित सोच त्याग्नुपर्नेमा उनले जोड दिए।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान परिस्थितिमा वामपन्थी एकताको विकल्प नरहेको बताए। समय र परिस्थितिले सबैलाई एकताका लागि दबाब दिएको उल्लेख गर्दै उनले आजकै दिनबाट दीर्घकालीन वाम एकताको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

खनालले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास अझै जारी रहेको दाबी गर्दै सतर्क रहन आग्रह गरे। उनले मदन भण्डारी र जीवराज आश्रितको मृत्युबारे पुनः अनुसन्धानको आवश्यकता रहेको पनि उल्लेख गरे।

उनका अनुसार समाजवादी क्रान्तिको वर्तमान चरणमा नयाँ नीति र कार्यदिशा आवश्यक छ। पुरानै सोँंचमा अडिएर लक्ष्य हासिल गर्न नसकिने भन्दै उनले समयअनुकूल विचार र रणनीति विकास गर्नुपर्नेमा जोड दिए।

जननेता भण्डारीको ७५ औँ जन्म जयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण’ समारोह आयोजना गरिएको थियो ।

कार्यक्रमका अधिकांश वक्ताले मदन भण्डारीको राजनीतिक योगदानको स्मरण गर्दै वामपन्थी आन्दोलनलाई पुनः सशक्त बनाउन एकता, सहकार्य, आत्मसमीक्षा र वैचारिक स्पष्टताको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए।