कोल्ड ड्रिङ्क्सको विकल्प बन्दै ‘मोही’, स्वास्थ्यका लागि लाभदायी

दियोपोस्ट संवाददाता  

काठमाडौं । गर्मी मौसममा बजारमा पाइने चिसो पेय पदार्थको सट्टा मोही सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मनिएको छ । आयुर्वेदअनुसार शरीरलाई शीतलता प्रदान गर्न र पाचन प्रणालीलाई सुदृढ बनाउन प्रभावकारी प्राकृतिक पेय पदार्थको रुपमा मोहीलाई सबैभन्दा उत्कृष्ट पेय मानिन्छ।

आयुर्वेदमा मोहीलाई तक्र भनिन्छ। यसमा हलुका, सजिलै पच्ने, जठराग्नि (पाचनशक्ति) बढाउने, अपच भएको खाना पचाउन सहयोग गर्ने तथा कफ र वात दोषलाई सन्तुलनमा राख्ने गुण रहेको उल्लेख गरिएको छ। साथै यसले भोक बढाउने र पखाला वा ढिलो दिसा हुने समस्या नियन्त्रण गर्न पनि सहयोग गर्ने विश्वास गरिन्छ।

आयुर्वेदीय ग्रन्थमा महीलाई ‘तक्रं लघु कषायाम्लं दीपनीयं कफवातजित् । ग्रहणीदोषशूलार्शोगुल्मपाण्ड्वामयान् जयेत् ॥’ भनिएको छ । यसको अर्थ, मोहीले ग्रहणी (आईबीएसजस्ता समस्या), पेट दुख्ने, अर्श (पायल्स), गुल्म तथा अन्य पाचनसम्बन्धी समस्यामा लाभ पुर्‍याउने उल्लेख गरिएको छ।

आयुर्वेदका अनुसार नियमित रूपमा मोही सेवन गर्दा पाचनशक्ति बलियो हुने, ग्यास, अपच र पेट फुल्ने समस्या कम हुने, कब्जियत र अर्शमा राहत पुग्ने तथा आन्द्राको स्वास्थ्य सुधार हुन सक्ने विश्वास गरिएको छ। भारी भोजनपछि हुने असहजता कम गर्न र शरीरमा कफ तथा बोसोको अत्यधिक सञ्चय घटाउन पनि मोही उपयोगी मानिन्छ।

मोही सेवन गर्दा दहीलाई राम्रोसँग मथेर नौनी निकालिसकेपछि बाँकी रहने भाग प्रयोग गर्नुपर्ने र घरमै तयार गरिएको मोहीलाई बढी गुणकारी मानिएको छ। खाना खाइसकेपछि एक गिलास मोही पिउन सकिने तथा स्वाद र पाचनका लागि भुटेको जिरा, सैन्धव नुन वा अजवाइन मिसाएर सेवन गर्न सकिने आयुर्वेदको सुझाव छ।

यद्यपि, मोही दिनको समयमा सेवन गर्नु उपयुक्त हुने, रातिको समयमा सेवन नगर्नु राम्रो मानिने तथा अत्यधिक चिसो बनाएर नखान सुझाव दिइएको छ। ज्वरो, अत्यधिक कमजोरी वा अन्य विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाह लिएर मात्र मोही सेवन गर्नुपर्ने विज्ञहरूको भनाइ छ।

आयुर्वेदीय मान्यताअनुसार “न तक्रसेवी व्यथते कदाचित्” अर्थात् नियमित र उचित तरिकाले मोही सेवन गर्ने व्यक्ति पाचनसम्बन्धी समस्याबाट कम पीडित हुने विश्वास गरिएको छ। गर्मी मौसममा स्वास्थ्यवर्द्धक पेयका रूपमा मोहीलाई प्राथमिकता दिन आयुर्वेदले जोड दिएको छ।