काठमाडौँ । युरोपमा तातो लहर (हिटवेभ)का कारण १ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ। बिश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जुन २१ यता अत्यधिक तापक्रमका कारण सयौँ मानिसको मृत्यु भएको जनाएको हो।
डब्ल्यूएचओका महानिर्देशकका अनुसार हाल करिब १५ करोड मानिस अत्यधिक गर्मीको जोखिममा छन्। अत्यधिक तापक्रमका कारण विद्यालय बन्द भएका छन्, विद्युत् प्रणालीमा दबाब बढेको छ र अस्पताल तथा आकस्मिक स्वास्थ्य सेवामा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ।
फ्रान्समा मात्र करिब १ हजार अतिरिक्त मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांश मृतक ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। स्पेन, इटाली, जर्मनी, पोल्यान्ड, चेकिया, हंगेरी तथा अन्य युरोपेली देशहरूमा पनि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित भएको छ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण यस्ता तातो लहरहरू झन् तीव्र, लामो र बारम्बार हुन थालेका छन्। डब्ल्यूएचओले गर्मीबाट हुने अधिकांश मृत्यु उचित पूर्वतयारी, प्रारम्भिक चेतावनी प्रणाली, पर्याप्त पानीको उपलब्धता र संवेदनशील समूहको विशेष संरक्षणमार्फत रोक्न सकिने जनाएको छ।
विश्व मौसम संगठनले पनि युरोपमा पछिल्ला दिनहरूमा तापक्रमका धेरै पुराना कीर्तिमान भंग भएको र तातो लहरले स्वास्थ्य, कृषि, ऊर्जा तथा पूर्वाधारमा गम्भीर असर पारेको जनाएको छ।
डब्ल्यूएचओका अनुसार युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तातिँदै गएको क्षेत्र हो। पछिल्ला चार वर्षमा मात्र अत्यधिक गर्मीका कारण २ लाखभन्दा बढी मानिसको ज्यान गएको अनुमान गरिएको छ।