सुस्ता बचाउन राजधानीमा धर्ना, राशनसहित काठमाडौं पुगे सुस्तावासी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नवलपरासीको सीमावर्ती सुस्ता क्षेत्रका स्थानीयवासी ‘सुस्ता बचाउ अभियान’ सहित नागरिकता, भूमि अधिकार तथा सीमा सुरक्षालगायतका माग लिएर संघीय राजधानी काठमाडौँ आइपुगेका छन् । आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन राशनको बन्दोबस्तीका साथ उनीहरु काठमाडौं पुगेका हुन्।

सुस्ताबासीले माइतीघर मण्डलामा धर्ना दिएर सरकारलाई आफ्ना समस्या सुनाउने बताएका छन्। उनीहरूका अनुसार सीमासम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिपछि भारतीय पक्षबाट आफूहरूमाथिको दबाब झन् बढेको छ।

यसअघि आइतबार बुटवलमा ‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियान’ले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। अभियानका प्रतिनिधिहरूले सरकारको निरन्तर उपेक्षाका कारण निर्णायक आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।

उनीहरूका अनुसार आफ्ना समस्या राख्न पटक-पटक प्रधानमन्त्रीको सचिवालयसँग समय माग्दा पनि सुनुवाइ हुन सकेको छैन। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पटक-पटक नेपाली भूभागमा प्रवेश गरी स्थानीयलाई त्रसित बनाउने गरेको सुस्ताबासीको भनाई छ । गत जेठ २९ गते पनि एसएसबीको टोली नेपाली बस्तीमा प्रवेश गरी स्थानीयमा असुरक्षा र अन्योल सिर्जना गरेको उनीहरूको आरोप छ।

सीमाजस्तो संवेदनशील विषयमा आधिकारिक तथ्य र अभिलेख अध्ययन नगरी सार्वजनिक अभिव्यक्ति नदिन प्रधानमन्त्रीसहित सरकारका उच्च पदाधिकारीलाई आग्रह गरेका छन्। यस्ता अभिव्यक्तिले सीमावर्ती क्षेत्रका बासिन्दामा नकारात्मक प्रभाव परेको उनको भनाइ छ।

 

सिफारिस